Logo

वडा सदस्य नै ठगी धन्दामा



रामेछाप- रामेछाप जिल्लाको रामेछाप नगरपालिका–७ का एकजना वडा सदस्य आफ्नै वडाका युवाहरुलाई ठगी गरी फरार भएका छन् ।
रामेछाप नगरपालिका–७ का निर्वाचित वडा सदस्य महेन्द्र मगरले आफ्नै वडाका युवाहरुलाई विदेश पठाइदिन्छु भनि ठगी गरेर सम्पर्कबिहीन भएको पीडितहरुले बताएका छन् । वडा सदस्य मगरले युवाहरुलाई आकर्षक काम र कमाइको लोभ देखाएर यूरोप पठाइदिने आश्वासन दिएका थिए । उनले यूरोप जानका लागि भारत गएर भिसा लगाउनुपर्ने र त्यसका लागी ५० हजार रुपैयाँ लाग्ने भन्दै पैसा असुली गरेका थिए ।

पैसा र पासपोट बुझाएको १ वर्ष वितिसक्दा पनि भिसा आउनु त परेको कुरा वडासदस्य मगर नै सम्पर्कविहीन भएको पीडित अस्मिता महताराले गुनासो गरिन् । ‘३ महिना भित्र भिसा आउँछ भनेर वडा सदस्य जस्तो जिम्मेवार मानिसले भनेपछि पैसा र पासपोर्ट बुझाएको तर अहिले १ वर्ष वितिसक्दा पनि भिसा नआएको उनले बताइन् । वडा सदस्य मगर अहिले कसैको पनि सम्पर्कमा छैन्न । उनको मोबाइल स्वीचअफ छ भने सामाजिक सञ्जाल फेसबुकको अकाउन्ट समेत बन्द रहेको छ ।

वडा सदस्य मगरले १४÷१५ जना युवाहरुलाई विदेश पठाइदिन्छु भन्दै ठगी गरेका पाइएको छ । उनले आफ्नै गाउँका युवाहरुलाईसमेत ठगेका छन । रामेछाप ७ का सागर कार्कीले पनि वडासदस्य मगरलाई ८ महिना अघि पासपोर्ट बुझाएका थिए । कार्कीसँग भिसा लगाउन पैसा लाग्ने भन्दै मागेको भएपनि पैसा भने नदिएको उनले बताए ।

अस्मिता र सागर त वडा सदस्य मगरबाट ठगिएका प्रतिनिधि पात्र मात्रै हुन । उनीहरुजस्ता धेरै युवाहरु ठगिएका छन् । जनप्रतिनिधि जस्तो जिम्मेवार व्यक्तिको विश्वास गरेर रकम बुझाएकाहरु अहिले पछुताइरहेका छन । वडा सदस्य मगर अरुलाई विदेश पठाइदिने भन्दै रकम ठगी गरेर आफै विदेश गएको हुन सक्ने उनका एक छिमेकिले बताए । रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले वडा सदस्य मगरले रकम ठगी गरेको प्रमाणसहित उजुरी परे कारबाही प्रक्रिया अघि बढाइने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्