रामेछाप- रामेछापको गोकुलगङ्गा गाउँपालिकामा निर्माणाधीन सडक योजनाहरू अलपत्र छन् । निर्माण व्यवसायीको लापरबाही र जिम्मेवार निकायको उदासीनताका कारण योजनाहरू समयमै सम्पन्न नहुँदा सर्वसाधारण सास्ती बेहोर्न बाध्य छन् ।
गोकुलगङ्गा गाउँपालिकामा ९ किलोमिटर कालोपत्रे सडक निर्माणका लागि २०८० असार मसान्तमा काम सुरु भएको थियो । तर हालसम्म पनि सडक निर्माणको काम ५० प्रतिशत पनि भएको छैन । बेताली–रस्नालु–गर्जाङ सडकको बेताली–भिमसेनस्थान खण्ड ९४.५ किमी. को जिम्मा ईश्वरी कन्स्ट्रक्सन प्रालिले पाएको छ भने दार्खाखोला–बुर्केधारापानी खण्ड ९४.५ किमी. को ठेक्का रामेछाप पाँच पोखरी निर्माण सेवाले पाएको छ ।
स्थानीयवासी सचिन कार्कीकाअनुसार दुई वर्ष बितिसक्दा पनि दुवै सडक खण्डको अवस्था हेर्नै नसक्ने बनेको छ । “व्यवसायी भन्छन् रकम निकासा भएन । कार्यालय भन्छ व्यवसायीले काम गरेन” उनले भने, “यी दुई पक्षबिचको दोहोरीले सर्वसाधारणको यात्रा जोखिमपूर्ण बनेको छ ।”
सडकमा निर्माणको नाममा कामको गति सुस्त रहेको गोकुलगङ्गा गाउँपालिका–५ नामाडीका वडा अध्यक्ष दीपक कार्कीले बताए । निर्माण व्यवसायी पटक्कै काम गर्दैन, कार्यालयले म्याद थप्ने तर काम नगर्ने प्रवृत्तिले सडक भद्रगोल बनेको छ उनले भने ।
उनकाअनुसार आर्थिक वर्ष २०८०÷८१ मा केही प्रगति भए पनि २०८१÷८२ मा काम ठप्पजस्तै रह्यो । अहिले पूर्वाधार विकास कार्यालय रामेछापका प्रमुख ज्यानेन्द्रप्रसाद पुनको नेतृत्वमा डोजरले मनपरी काम गर्दा सडक अझ बिग्रिएको वडा अध्यक्ष कार्कीको भनाइ छ ।
निर्माण व्यवसायीले समयमै काम नसकेका कारण सडकको अवस्था अस्तव्यस्त रहेको गोकुलगङ्गा गाउँपालिका अध्यक्ष काजीबहादुर खड्का (दिनेश)ले बताए । सडक अवरुद्ध त छैन, तर पानी पर्दा हिलाम्मे, घाम लाग्दा धुलाम्मे हुने अवस्था छ, उनले भने, खराब अवस्थामै यात्रा गर्नुपरेको छ ।
गाउँपालिकाले यसबिचमा सम्बन्धित निकायलाई १२ पटकसम्म ध्यानाकर्षण पत्र काटेको भएपनि ठोस परिणाम नआएको उनले बताए । निर्माण व्यवसायीले पूर्वाधार कार्यालय लगायत कसैलाई पनि नटेरी काम नगरेको अध्यक्ष खड्काको आरोप छ ।
यी दुई खण्ड सडकका लागि ३० करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको छ । बेताली–भिमसेनस्थान खण्डको लागि १५ लाख ३९ हजार, र दार्खाखोला–बुर्केधारापानी खण्डको लागि १४ करोड ८५ लाख रुपैयाँ कुल बजेट रहेको पूर्वाधार विकास कार्यालय रामेछापका सूचना अधिकारी इन्जिनियर दोर्णबहादुर चौधरीले बताए । उनले सडक योजनाको काम सक्न निर्माण व्यवसायीले पटक–पटक ताकेता गर्दा पनि बेवास्ता गरेको स्वीकार गरे ।
२०८२ असार मसान्तसम्म काम सम्पन्न गर्ने सर्तमा सम्झौता भएको भए पनि हालसम्म ५० प्रतिशत मात्रै काम सम्पन्न भएको छ, उनले भने, अब पनि काम नगरे क्षतिपूर्तिसहित कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
सम्झौतामा निर्माणका क्रममा सडक आवतजावतमा अवरोध नहुने व्यवस्था गर्नुपर्ने प्रावधान रहे पनि निर्माण व्यवसायीले त्यसप्रति ध्यान नदिँदा सडक अस्तव्यस्त बनेको उनको आरोप छ ।
