
रामेछाप – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले सामाजिक सञ्जालले समाजलाई बहकाएको बताए । सामाजिक सञ्जालले समाजलाई बहकाएको भन्दै सिवाकोटीले भने समाजलाई भ्रमित बनाउने कुरालाई निरुत्साहित गर्नुपर्छ ।
मन्थलीमा आयोजना गरिएको नेपाल प्रेस युनियन रामेछापको नवौँ साधारण सभालाई सम्बोधन गर्दै सिवाकोटीले यस्तो बताएका हुन् । सामाजिक सञ्जालमा आएका कुराले मानिसलाई दिग्भ्रमित बनाउने काम गरेको उनको भनाइ छ । सामाजिक सञ्जालमा आएका धेरै कुराहरू राजनीति दलका विरुद्धमा रहेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको बताए ।
निराशाको व्यापार गर्नेलाई जति धेरै मसला दियो त्यति नै देश र व्यवस्था जोखिममा पर्ने उनको तर्क थियो । अहिले नागरिकमा आशा जगाउन राजनीतिक दलबिचको सम्बन्धलाई तथा पत्रकार र राजनीतिक दलबिचको सम्बन्धलाई अभ बलियो बनाउनु पर्ने सिवाकोटीको भनाइ छ ।
नेपाल प्रेस युनियन रामेछापका अध्यक्ष ज्ञानु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा युनियनका महासचिव दिलीप पौडेल, नेपाली काङ्ग्रेस रामेछापका पूर्वसभाति रामचन्द्र खड्का, रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपाने, मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, गोकुलगङ्गा गाउँपालिका अध्यक्ष काजीबहादुर खड्का लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाल प्रेस युनियन रामेछापले प्रकाशन गरेको २०८२ सालको भित्तेपात्रो पनि सार्वजनिक गरिएको थियो ।