Logo

सुनापतिबाट सुरु भएको गाउँगाउँमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्ने अभियान रामेछाप हुँदै गोकुलगङ्गा पुग्यो



रामेछाप- जिल्ला प्रशासन कार्यालय रामेछापले नागरिकलाई सहज सेवा उपलब्ध गराउन गाउँ–गाउँमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण तथा नयाँ विवरण सङ्कलन अभियान सञ्चालन गरिरहेको छ ।

उक्त अभियान अन्तर्गत सोमवारदेखि गोकुलगङ्गामा परिचयपत्र वितरण तथा नयाँ विवरण भर्ने कार्य सुरु गरिएको छ । गोकुलगङ्गा गाउँपालिकाको वडा नम्बर १ चुचुरेबाट चरिचयपत्र वितरण तथा नयाँ विवरण भर्न सुरु गरिएको हो । यसअघि सुनापति गाउँपालिका र रामेछाप नगरपालिकाको विभिन्न वडाहरुमा वितरण कार्य सम्पन्न भइसकेको कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाकाअनुसार अभियानलाई बिस्तारै सबै पालिकामा पुर्‍याइनेछ । हालसम्म रामेछाप नगरपालिकाको वडा नं. १, ३, ४, ५, ६ र ७ मा कार्यक्रम सम्पन्न भइसकेको छ, जसअन्तर्गत ६४६ जनाको विवरण सङ्कलन र १४१ वटा बनेका परिचयपत्र वितरण गरिएको छ । हाल वडा नं. ८ मा काम भइरहेको उनले जानकारी दिए ।

त्यसैगरी, सुनापति गाउँपालिकामा ५६७ जनाको विवरण सङ्कलन भएको छ । परिचयपत्र वितरणसँगै स्थानीय प्रशासन र प्रहरीले सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरेको हुँदा नागरिकले दोहोरो लाभ उठाएको बताइएको छ ।

स्थानीय तहमै सेवा पुर्‍याउँदा सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । यसले विशेषगरी ग्रामीण बासिन्दा, ज्येष्ठ नागरिक र असक्त व्यक्तिहरूलाई प्रत्यक्ष फाइदा पुगेको जिल्ला प्रशासन कार्यालयको भनाइ छ । सामाजिक सुरक्षा भत्ता लिन तथा बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि उनीहरूलाई सदरमुकाम धाउनुपर्ने समस्या रहेको थियो । सो कठिनाइलाई मध्यनजर गर्दै सेवा गाउँमै पुर्‍याइएको हो ।
प्रमुख जिल्ला अधिकारी थापाले अभियानलाई सबै वडामा विस्तार गर्ने योजना रहेको उल्लेख गर्दै भने, “हाल रामेछाप नगरपालिका र गोकुलगङ्गामा टोली खटिएका छन्, त्यहाँको कार्य सम्पन्न भएपछि बाँकी पालिकामा पनि वडासम्म टोली पठाइनेछ ।”

प्रतिक्रिया दिनुहोस्