रामेछाप-सदरमुकाम मन्थलीका स्थानीय युवाहरु तथा शान्तिदीप युवा क्लव र रामेछाप विमानस्थलबाट लुक्लाका लागि उडान भर्दै आएका वायु सेवा कम्पनीहरुबिच रामेछाप–काठमाडौँ विशेष उडान गर्ने सहमति भएको छ ।
शान्तिदीप युवा क्लब मन्थलीको सक्रिय पहल तथा स्थानीय युवाहरुको दवावपछि वायु सेवा कम्पनीहरु तिहारसम्मका लागि रामेछाप–काठमाडौँ विशेष उडान गर्न सहमत भएका हुन् । रामेछाप विमानस्थलबाट लुक्लाका लागि मौसमी उडान भर्दै आएका तारा एयर, सीता एयर र समिट एयर तिहारसम्मका लागि रामेछाप–काठमाडौँ हप्तामा एक उडान भर्न सहमत भएका हुन् ।
मङ्गलवार स्थानीय युवाहरूले “तीन दिनभित्र रामेछाप–काठमाडौँ उडान सुरु गर्नुपर्ने” मागसहित ध्यानाकर्षण पत्र बुझाएसँगै भएको संयुक्त छलफलमा उक्त सहमति जुटेको शान्तिदीप युवा क्लब मन्थलीका अध्यक्ष सुरेश उदासले जानकारी दिए । अध्यक्ष उदासकाअनुसार तीन वटै एयरलाइन्सहरुले हप्ताको १ पटक उडान भर्ने सहमति भएको छ ।

शान्तिदीप युवा क्लव मन्थली तथा स्थानीय युवाहरु र वायु सेवा कम्पनीहरुबिच भएको सहमतिअनुसार तारा एयरले प्रत्येक शनिवार, सीता एयरले प्रत्येक शुक्रवार र समिट एयरले प्रत्येक बुधवार रामेछाप–काठमाडौँ उडान गर्ने छन् ।
हवाइ कम्पनीहरूले तत्कालै अनलाइन टिकट बिक्री र नियमित तालिका सार्वजनिक गर्ने सहमति गरेका छन् । साथै, चाडपर्वपछि पनि लुक्ला उडानमा अवरोध भएमा तीनै कम्पनीले सहमतिपूर्वक सातामा कम्तीमा एक उडान सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय पनि भएको छ । यस कार्यको समन्वय नेपाल नागरिक उड्डयन कार्यालयले गर्नेछ । स्थानीय युवाहरूले उडान, टिकट व्यवस्था तथा समग्र व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यसले तिहारका बेला रामेछापवासी र पर्यटक दुवैलाई सहज यात्राको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
यसअघि मङ्गलवार नै शान्तिदिप युवा क्लब मन्थली र स्थानीय युवाहरूले प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, मन्थली विमानस्थल प्रमुख र विभिन्न विमान कम्पनीका प्रतिनिधिलाई तीन दिने अल्टिमेटमसहित ध्यानाकर्षण पत्र बुझाएका थिए ।
