
रामेछाप- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले रामेछाप जिल्ला भौतिक पूर्वाधार विकासको हिसाबले धेरै पछि परेको बताए । राजधानी नजिकै भएर पनि रामेछाप जिल्ला पूर्वाधारको दृष्टिले जति हुनुपर्ने हो त्यति विकास हुन नसकेको बताए ।
जिल्लाको विकासका लागि स्थानीय तहबाट हुनु पर्ने प्रयत्न र प्रयासहरु नपुगेका पनि सभामुख घिमिरेले बताए । स्थानीयबाट जति पहल र प्रयत्न हुन्छ, राज्यले त्यतिनै दृष्टिकोण दिने भएकाले त्यसतर्फ लाग्न घिमिरेले आग्रह समेत गरेका छन् ।
शुक्रवार साँझ रामेछापको सदरमुकाम मन्थली आइपुगेका सभामुख घिमिरेको स्वागतमा मन्थली नगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् । रामेछाप जिल्लाका अधिकांश भाग सुख्खा समेत रहेकाले नदीको पानी लिफ्ट गरेर सिँचाइ गर्न, हिउँदमा समेत झर्ने घ्याप्चे लगायतका पहिरो नियन्त्रणका लागि प्रयास गर्न र फोहोरको समयमानै दीर्घकालिन समाधान गर्न आग्रह उनले आग्रह गरेका छन् ।
‘नगरमा उत्पन्न हुने फोहोरको अहिलेनै स्थायी रुपले समाधान गरिएन भने भविष्यमा यसले बिकराल रुप लिन्छ’ घिमिरेले भने – पूर्वि नेपालका धेरै ठुला शहरहरुमा अहिले फोहोरको समस्याले टाउको दुखाइरहेका छ, बर्षौदेखि प्रयास हुदाँ पनि त्यहाँ अझै फोहोरको उचित व्यवस्थापन हुन सकेको छैन् ।
रामेछाप जिल्लाको विकासका लागि आफ्नो पहल र प्रयत्न जहिले पनि हुने भन्दै सभामुख घिमिरेले विकासका लागि राज्यको स्रोत बढाउनु पर्ने अवस्था रहेको बताए । नागरिकहरुले कर तिरेमा आर्थिक हिसाबले राज्य बलियो हुने र विकास समेत छिटो हुने उनको तर्क थियो । राज्यले विकासका लागि दिएको बजेटको सदुपयोग र दीगो विकासका लागि समेत सबै नागरिक सचेत हुनुपर्नेमा पनि घिमिरेले जोड दिए ।
मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले सभामुख घिमिरेलाई स्वागत गर्दै मन्थलीदेखि चनखु र मन्थलीदेखि गेलु जाने सडकमा पुलको अभाव रहेको, मन्थली नगर अस्पताललाई स्तर वृद्धि गरी प्रदेश हँुदै सङ्घीय अस्पतालको रुपमा विकास गर्नुपर्ने खाँचो रहेको, फोहोर मैलाको उचित व्यवस्थापन र सडक पूर्वाधारका लागि धेरै काम गर्नुपर्ने उल्लेख गरेका थिए । श्रेष्ठले मन्थली नगरपालिकाको संक्षित चिनारीका साथै कार्ययोजना पुस्तिका समेत उक्त कार्यक्रम सभामुख घिमिरेलाई हस्तान्तरण गरेका थिए ।
शनिवार मन्थलीमा हुने घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको प्रथम जिल्ला अधिवेशनको उद्घाटनका लागि सभामुख घिमिरे मन्थली आइपुगेका हुन् । अधिवेशनका लागि रामेछाप जिल्लाका विभिन्न स्थानमा बसोवास गर्ने र रामेछाप स्थायी ठेगाना भई अन्यत्र बसोवास गर्ने घिमिरेहरु मन्थली आइपुगेका छन् । अधिवेशनमा रामेछाप जिल्लाबाट निर्वाचित सांसद तथा उर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) समेतले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजक संस्थाले जनाएको छ ।