
रामेछाप- देशभरजस्तै रामेछाप जिल्लामा पनि महिना दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा रामेछापको मन्थली नगरपालिकाले र्याली तथा लोकगीत प्रतियोगिता गरि मनाएको छ भने रामेछाप नगरपालिकाले वक्तृत्वकला प्रतियोगिता आयोजना गरि मनाएको छ ।
जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा सद्भाव र्याली र महिला सशक्तीकरण सम्बन्धी लोकगीत प्रतियोगिता आयोजना गरी दिवस मनाइएको हो ।
मन्थली नगरपालिकाको सहयोगमा क्रियाशील पत्रकार महिला रामेछापले कार्यक्रमको आयोजना गरेको थियो । दिवसका अवसरमा मन्थलीको मदनआश्रित चोकबाट विपिचोक, देवकोटा चोक, कटहरबोट हुँदै मन्थली नगरपालिकासम्म सद्भाव र्याली निकालिएको थियो ।
उक्त र्यालीपछि मन्थली नगरपालिकाको हलमा महिला सशक्तीकरण सम्बन्धी लोकगीत प्रतियोगिता आयोजना गरिएको थियो । क्रियाशील पत्रकार महिला रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठको अध्यक्षता र मन्थली नगरपालिका उपप्रमुख इश्वरी बस्नेतको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा पाँच वटा महिला समूहले भाग लिएका थिए ।
प्रतियोगितामा सहभागी मध्येबाट मन्थली नगरपालिका–२ करमबोटबाट सहभागी रुक्मणी अधिकारी र ऋण अधिकारीको टिम प्रथम भएको छ । महिला उद्यमी संस्थाबाट सरस्वती कार्की र मेनुका महतको टिम दोस्रो भएको छ भने अञ्जना श्रेष्ठ तेस्रो भएको छ । त्यसैगरी सृजनशील लघु उद्यमी समूहबाट देवकी भुजेल र सङ्गीता माझीको टोलीले सान्त्वना पाएको छ ।
प्रतियोगितामा पहिलो हुने टिमले नगद पाँच हजार, दोस्रो हुनेले तीन हजार र तृतीय हुने टिमले दुई हजार रुपैयाँ नगर पुरस्कार पाएका छन् भने सान्त्वना हुने टिमले एक हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त प्रदा नगरिएको थियो ।
यसैबिच रामेछाप नगरपालिकाले वुक्तृृत्वकला प्रतियोगिता आयोजना गरि महिला दिवस मनाएको छ । ‘महिला सशक्तीकरण आजको आवश्कता’ भन्ने शीर्षकमा वक्तृत्वकला प्रतियोगिता गरिएको उक्त प्रतियोगितामा राशी कार्की (सिता) प्रथम भएकी छन् ।
प्रतियोगितामा कल्याणी श्रेष्ठ द्धितीय र हिरा तामाङ तृतीय भएका छन् । प्रतियोगितामा १० जना महिलाहरुले भाग लिएका थिए । प्रथम, द्वितीय र तृतीय भएकाहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवम् रामेछाप नगरपालिका उपप्रमुख बालकुमारी कार्की र विशेष अतिथि एवम् वडा नम्बर ७ का वडाध्यक्ष समीर कार्कीले पुरस्कार वितरण गरेका थिए । सक्रिय सुकाजोर महिला सञ्जालको आयोजना र वडा कार्यालयको सहयोगमा भएको कार्यक्रममा नृत्य, गीत तथा कविता बाचन कार्यक्रम पनि गरिएको थियो ।