
रामेछाप- रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका सबै वडाहरु बालमैत्री शासनयुक्त वडा घोषणा भएका छन् । रामेछाप नगरपालिकाका ९ वटै वडाहरु मङ्गलवार एकैदिन बालमैत्री शासनयुक्त वडा घोषणा गरिएका हुन् ।
रामेछाप नगरपालिका वडा नम्बर ६ को बालमैत्री शासनयुक्त वडा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बालबालिकामाथि हुने हिंसा क्षम्य नहुने बताए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रजिअ थापाले घर, विद्यालय, समाज जुनसुकै ठाउँमा हुने बालबालिका माथिको हिंसा क्षम्य नहुने बताए । कानुन कार्यान्वयमा शून्य सहनशीलता अपनाइने बताउँदै प्रजिअ थापाले भने– घर, विद्यालय र समाजमा बालबालिकासँग गरिने व्यवहार र बोली पनि सभ्य हुनुपर्छ ।
बालबालिकालाई नीति, नियम र विधिले संरक्षण गर्नुपर्ने औल्याउँदै बालबालिकाको गर्भदेखिनै सुरक्षा गर्नुपर्ने आवश्यका रहेको बताए । बालबालिको सुरक्षाको लागि ऐन, कानु, नीति, विधि साथै आवधिक योजना समेत रहेको बताउँदै बालबालिको सुरक्षा सम्बन्धी ऐन कानुन कार्यान्वयनमा सबै पक्ष लाग्नु पर्ने बताए । रामेछाप नगरपालिकाले नगरका सबै वडाहरुलाई बालीमैत्री शासनयुक्त वडा घोषणा गर्ने आँट गर्यो, यो ठुलो कुरा हो । योभन्दा पनि ठुलो कुरा यसलाई कार्यान्वयन गर्नु हो, त्यसैले बालमैत्री स्थानीय शासनको कार्यान्वयन र दीगोपनाको लागि सबै क्षेत्र लाग्नु पर्छ, प्रमुख जिल्ला अधिकारीले थापाको भनाइ छ ।
उक्त कार्यक्रमा नेपाल काङ्ग्रेस, रामेछाप नगरका सभापति पूर्ण मगर, नेकपा एमाले रामेछाप नगर कमिटीका अध्यक्ष रोसन पाख्रिन, नेकपा माओवादी (केन्द्र) रामेछाप नगर कमिटीका अध्यक्ष नारायणबाबु श्रेष्ठ लगायतले बालमैत्री स्थानीय शासनयुक्त वडा कार्यान्वयका लागि आफू र आफ्ना पार्टी प्रतिवद्ध रहेको प्रतिवद्धता जनाएका छन् ।
रामेछाप नगरपालिका–६ का वडाध्यक्ष राजेश तामाङले बालमैत्री सबै राजनीतिक दल, स्थानीय बुद्धिजीवि लगायत सबै क्षेत्रको सहयोगमा बालमैत्री स्थानीय सशासनयुक्त वडा घोषणा गर्न सफल भएको बताए । बालमैत्री स्थानीय सशासन कार्यान्वयमा पनि सबैको समन्वय र सहयोगको आवश्यकता रहेको बताए । बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएपछि वडामा बडामा बजेट पनि बढेर आउँने र बालबालिकाको सुरक्षा र विकास साथै वडाको समग्र विकासमा समेत सहयोग पुग्नेमा आफूले विश्वस लिएको वडाध्यक्ष तामाङले बताए ।
त्यसैगरी बुधवार (आज) मन्थली नगरपालिकाले पनि सबै वडाहरुलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्दै छ । मन्थली नगरपालिका बुधवार १४ वटै वडाहरु एकैदिने बालमैत्री शासनयुक्त वडा घोषणा गर्ने भएको हो । बालीमैत्री स्थानीय शासन घोषणा हुनका लागि आवश्यक सबै सूचक पूरा भएर जिल्ला समन्वय समितिबाट अनुगमनसमेत भइसकेको मन्थली नगरपालिकाले जनाएको छ । बालमैत्री वडा घोषणा कार्यक्रमको समेत सम्पूर्ण तयारी पूरा भइरहेको मन्थली नगरपालिकाले जनाएको छ ।