Logo

मन्थली नगरपालिकाले दियो लदी पर्वको बिदा



 रामेछाप– रामेछाप जिल्लाको मन्थली नगरपालिकाले लदी पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । माझी समुदायको मुख्य पर्वको रुपमा रहेको दली पूजाका दिन मन्थली नगरपालिकाले सार्वजनिक विदा दिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले सोमवार एक सार्वजनिक सूचना प्रकाशित गरी माझी समुदायको बसोबास रहेका वडाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन् ।

नेपाल माझी उत्थान सङ्घ केन्द्रीय समिति, मझे साबा पुनर्गठन समिति रामेछाप र नेपाल माझी उत्थान सङ्घ जिल्ला कार्यसमिति रामेछापका पदाधिकारीहरूले माझी समुदायको प्रमुख चार्ड लदी पूजाको दिन सार्वजनिक बिदा दिन माग गर्दै आइतवार नगरप्रमुख लव श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका थिए ।

माझी समुदायको उक्त मागको सम्बोधन गर्दै मन्थली नगर कार्यपालिकाको ३९ औँ बैठकले २०८१ फागुन २० गते मङ्गलवार लदी पूजाको दिन माझी समुदायको बसोबास रहेको वडा नं. १, २, ६, ७ र ८ मा सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाद्धारा जारी गरिएको सूचनामा उल्लेख छ ।

सूचनामा माझी समुदायको प्रमुख चाड लदी पूजाको दिन मन्थली नगरपालिकाको नगर सभाको यस अघिको निर्णय र बागमती प्रदेश सरकारलेसमेत माझी समुदायलाई उपलब्ध गराएको सार्वजनिक बिदाको अतिरिक्त उक्त दिन सार्वजनिक बिदा दिन नेपाल माझी उत्थान सङ्घ केन्द्रीय समिति, मझे साबा पुनर्गठन समिति रामेछाप र नेपाल माझी उत्थान सङ्घ जिल्ला कार्य समिति रामेछापका पदाधिकारी समेतबाट मिति २०८१ फागुन १८ गते नगरप्रमुख समक्ष ज्ञापनपत्र पेस भएको सार्वजनिक सूचना उल्लेख छ ।

मन्थली नगरपालिका नगर कार्यपालिकाको ३९ औँ बैठकबाट माझी समुदायको बसोबास रहेको र माझी समुदायका बालबालिकाहरू अध्ययन गर्ने वडा नं. १, २, ६, ७ र ८ का विद्यालयमा समेत मिति २०८१ फागुन २० गते मङ्गलवारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्