२६ वैशाख २०७४ रामेछाप– वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृति तथा रामेछापका जिल्ला न्यायधिश किरणप्रसाद सिवाकोटीले बुधबारसम्म जिल्लाको सबै मतदान केन्द्रहरुमा आवश्यक सामाग्री पुगिसक्ने बताउनु भएको छ ।
जिल्लाको टाँढाका स्थान उमाकुण्ड, दोरम्बा, गोकुलगंगा, सुनापति लगायतका गाउँपालिकामा खटिने कर्मचारीको लागि पैसा र निर्वाचन सामाग्री बुझाउने काम सकिएको र भोली बुधबारसम्ममा सबै मतदान केन्द्रका कर्मचारीलाई सामाग्री हस्तान्तरण गरिसकिने पनि उहाँले बताउनुभयो ।
टाढाको मतदान केन्द्र र स्थलमा खटिने कर्मचारीहरुलाई मंगलबार मन्थलीबाट विदा गरिसक्ने र नजिकका स्थानका कर्मचारीहरुलाई बुधबारसम्म खटाइसकिने पनि प्रधानन्यायधिश तथा मुख्य निर्वाचन अधिकृति शिवाकोटीले जानकारी दिनुभयो ।
निर्वाचनको सुरु हुनु ४८ घण्टा अघि नै मतदान केन्द्र तथा स्थलहरुमा कर्मचारी पुगेर सूचना प्रकाशित गर्नुपर्ने र मतदाता परिचय–पत्र पनि विरण गर्नुपर्ने भएकाले टाढाका कर्मचारीलाई छिटोछिटो पठाउँने काम भइरहेको पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
