Logo

उद्यमी व्यवसायीमाथिको धरपकडले निजी क्षेत्र त्रसित : यसले अर्थतन्त्र, रोजगारी, राजस्व सङ्कलन तथा पूर्वाधार निर्माणमासमेत गम्भीर असर पार्न सक्ने चेतावनी



काठमाडौँ– नयाँ सरकार गठनपछि मुलुकमा राजनीतिक स्थिरता कायम भई लगानीको वातावरण बन्ने अपेक्षा गरिएका बेला उद्यमी व्यवसायीमाथि भइरहेको धरपकड र थुनछेकका घटनाले निजी क्षेत्र निरुत्साहित भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै ती अर्थतन्त्रमा ८१ प्रतिशत तथा रोजगारीमा ८६ प्रतिशत योगदान पुर्‍याइरहेको निजी क्षेत्र त्रसित हुनुपर्ने अवस्था सिर्जना हुनु चिन्ताजनक भएको बताएका छन् । यसले अर्थतन्त्र, रोजगारी, राजस्व सङ्कलन तथा पूर्वाधार निर्माणमासमेत गम्भीर असर पार्न सक्ने उनीहरूको चेतावनी छ ।

व्यावसायिक संस्थाहरूले नियामकीय निकायका प्रतिवेदनका आधारमा मात्रै उद्योगी व्यवसायीलाई पक्राउ गर्ने कार्यप्रति आपत्ति जनाउँदै आर्थिक कसुरका मामिलामा “पहिले सुन्ने र कसुर प्रमाणित भएपछि मात्र कारबाही गर्ने” दृष्टिकोण अपनाउन सरकारसँग आग्रह गरेका छन् ।

उद्यमी व्यवसायीहरू अनुसन्धानमा पूर्ण सहयोग गर्न र प्रहरी बोलाएको समयमा उपस्थित हुन तयार हुँदाहुँदै पनि आर्थिक कसुरकै अभियोगमा पक्राउ गरिनुले समग्र निजी क्षेत्र चिन्तित र दुःखी बनेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूले उद्योगी व्यवसायीमाथिको धरपकडले व्यक्ति मात्र नभई लाखौं रोजगारी, आपूर्ति श्रृंखला, बैंकिङ क्षेत्र तथा समग्र आर्थिक प्रणालीमै गम्भीर धक्का पुग्न सक्ने बताएका छन् ।
संयुक्त विज्ञप्तिमा नेपाल सरकारले पछिल्लो समय नीति तथा कानुन निर्माण प्रक्रियामा निजी क्षेत्रलाई समेत सहभागी गराउन थालेको कदमलाई सकारात्मक रूपमा लिइएको उल्लेख गरिएको छ । साथै, निजी क्षेत्र संरक्षण एवं प्रवद्र्धन रणनीति मन्त्रिपरिषद्बाट पारित भइसकेको अवस्थामा भइरहेका धरपकडका घटनाले निजी क्षेत्रलाई थप सशंकित बनाएको उनीहरूको भनाइ छ ।

ती संस्थाहरूले कसुर प्रमाणित भए दोषीलाई कारबाही हुनुपर्नेमा निजी क्षेत्रको कुनै विमति नरहेको स्पष्ट पारेका छन् । तर, नेपालको संविधानले सुनिश्चित गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार तथा कसुर प्रमाणित नभएसम्म कसुरदार नमानेको व्यवस्थालाई सम्मान गर्न सरकारलाई आग्रह गरिएको छ ।

विगत चार वर्षदेखि शिथिल बन्दै गएको अर्थतन्त्र नयाँ निर्वाचनपछि बनेको बलियो सरकारबाट व्यवसायमैत्री नीति र व्यवहारको अपेक्षा गरिएको अवस्थामा यस्ता गतिविधिले लगानी अभिवृद्धि र लगानीकर्ताको विश्वास कमजोर बनाउन सक्ने निजी क्षेत्रको चिन्ता छ ।

निजी क्षेत्रले देशको समृद्धि निजी लगानी र उद्यमशीलताको उत्साहबाट मात्रै सम्भव हुने भएकाले सम्बन्धित सबै पक्षलाई यस विषयमा गम्भीर बन्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्