रामेछाप- नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछापमा सङ्घीय महाधिवेशन प्रतिनिधि तथा प्रदेश अधिवेशनका लागि भएको मतदान सम्पन्न भएको छ । सङ्घीय महाधिवेशन प्रतिनिधितर्फ कुल १ हजार ७ सय ८४ मतदाता रहेकामा १ हजार ७ सय ३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिकोअनुसार प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ तर्फ ८ सय ७२ र ‘ख’ तर्फ ८ सय ४१ मत खसेको छ । रामेछापमा सङ्घीय महाधिवेशन प्रतिनिधिका ३२ पदका लागि १ सय ८ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । विभिन्न समूह र समावेशी क्लस्टरतर्फ उम्मेदवारी परे पनि समानुपातिक दलिततर्फको एक पदमा मुक्तबहादुर महते निर्विरोध निर्वाचित भइसकेका छन् । त्यसैले ३३ पदमध्ये ३२ पदका लागि मात्र निर्वाचन भएको हो ।
सङ्घीय महाधिवेशन प्रतिनिधितर्फ महिलाका चार पदमा ११ जना र खुलातर्फका १० पदमा ३८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । श्रमिकतर्फ एक पदका लागि चार जना, पेशागततर्फ एक पदका लागि तीन जना, युवा महिलातर्फ एक पदका लागि तीन जना र युवा खुलातर्फ दुई पदका लागि छ जना उम्मेदवार मैदानमा छन् ।
त्यसैगरी अपाङ्गतातर्फ एक पदका लागि चार जना, अल्पसंख्यकतर्फ एक पदका लागि चार जना, दलिततर्फ एक पदका लागि दुई जना र प्रजातान्त्रिक सेनानीतर्फ एक पदका लागि पाँच जना उम्मेदवारबिच प्रतिस्पर्धा भएको छ ।
समानुपातिकतर्फ आदिवासी जनजातिका तीन पदका लागि १४ जना, जनजाति महिलाका तीन पदका लागि छ जना, खसआर्यका दुई पदका लागि छ जना र खसआर्य महिलाको एक पदका लागि दुई जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
मतदान मङ्गलवार जिल्ला समन्वय समितिको परिसरमा सम्पन्न भएको हो । संघीय महाधिवेशन प्रतिनिधिको निर्वाचनसँगै प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ र ‘ख’ का पदाधिकारी तथा प्रदेशस्तरीय महाधिवेशन प्रतिनिधिका लागि समेत मतदान भएको हो ।
मतदान सम्पन्न भएसँगै उम्मेदवार तथा समर्थकहरूको ध्यान अब मतगणनातर्फ केन्द्रित भएको छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार बुधवार बिहान सबै उम्मेदवारहरुको संयुक्त बैठक बसेर मत गणना सुरु गरिने छ ।
