रामेछाप- नेपाली काङ्ग्रेस रामेछापको १५औँ महाधिवेशनअन्तर्गत सङ्घीय महाधिवेशन प्रतिनिधितर्फको मतगणना सकिएको छ । मतगणना सकिए पनि निर्वाचन समितिले आधिकारिक नतिजा सार्वजनिक गरेको छैन ।
असोज १३ गते सम्पन्न मतदानको मतगणना एक दिनपछि असोज १४ गते बेलुकाबाट सुरु गरिएको थियो । तीन दिन लगाएर केन्द्रीय महाधिवेशन तर्फको मतगणना सम्पन्न गरेपनि विवादका कारण मत परिणाम सार्वजनिक हुन नसकेको काङ्ग्रेस स्रोतले बताएको छ । शुक्रवार साँझ मतगणाना सकिएको भएपनि राति १० बजेसम्म पनि उम्मेदवारहरुले प्राप्त गरेको अन्तिम मतपरिणाम सार्वजनिक हुन सकेको छैन । काङ्ग्रेस स्रोतकाअनुसार सख आर्यतर्फको मत परिणाममा विवाद भएपनि अन्तिम नतिजा सार्वजनिक गर्न ढिलाई भएको हो ।
सङ्घीय महाधिवेशन प्रतिनिधिका लागि रामेछापबाट ३३ प्रतिनिधि छानिले छन् । ३३ जनामध्ये दलित प्रतिनिधि भने सर्वसम्मत निर्वाचित भइसकेका छन् ।
मतगणना सम्पन्न भइसकेपछि पनि परिणाम सार्वजनिक गर्न ढिलाइ हुँदा मतदाता तथा प्रतिनिधिहरूमा संसय पैदा गराएको छ । मतगणना अत्यन्त सुस्त गतिमा अघि बढेको भन्दै यसअघि नै काङ्ग्रेसका नेता तथा कार्यकर्ताले असन्तुष्टि व्यक्त गरेका थिए ।
निर्वाचन समितिले भने मतगणना सम्पन्न भएको परिणामलाई अन्तिम रुजु गरी आधिकारिक रूपमा सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ । उम्मेदवार र कार्यकर्ताहरू भने अन्तिम परिणामको प्रतीक्षामा छन् ।
