रामेछाप- जिल्ला प्रशासन कार्यालय रामेछापले आर्थिक वर्ष २०८१/०८२ मा ३ करोड ३१ लाख ४० हजार ४ सय ४९ रुपैयाँ राजश्व सङ्कलन गरेको छ । राहदानी, संस्था दर्ता, दण्ड जरिवाना र बेरुजु दाखिलासहित उक्त राजश्व सङ्कलन गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले शुक्रवार आर्थिक वर्ष २०८१/०८२ मा प्रशासन कार्यालयले सम्पादन गरेको मुख्य–मुख्य कामको विवरण सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएको हो ।
जिल्ला प्रशासन कार्यालय रामेछापले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८१/०८२ मा नयाँ नागरिकता ६ हजार ४ सय २७ थान जारी गरेको छ भने नागरिकताको प्रतिलिपी ५ हजार ९ सय ७६ थान जारी गरेको छ ।
त्यसैगरी ४ हजार ६ सय २७ राहदानीको आवेदन परेको छ भने ४ हजार ६ सय ५५ थान वितरण गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । त्यस्तै १३ हजार ७ सय ५५ जनाको राष्ट्रिय परिचयपत्रको विवरण लिने काम भएको छ भने ७ हजार १ सय ५४ थान वितरण भएको छ । सो अवधिमा २ सय ९५ नाबालक परिचयपत्र वितरण भएको जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी दिएको छ ।
त्यसैगरी अघिल्लो आर्थिक वर्षको सरी आएको २ वटासहित २५ वटा मुद्दा दर्ता भएकोमा २३ वटा फर्छोट भएको जिल्ला प्रशासन कार्यालय रामेछापद्धारा सार्वजनिक गरिएको विवरणमा उल्लेख छ । ठाडो उजुरी ९१ वटा दर्ता भएकोमा ९१ वटा नै फर्छोटट भएको छ । प्रशासन कार्यालयको अनुसार २०८१ साउनदेखि २०८२ असार मसान्तसम्म विपद्मा परी मृत्यु भएका र प्रभावित परिवारलाई गरी ३४ लाख ९५ हजार रुपैयाँ राहत प्रदान गरिएको छ ।
त्यसैगरी जिल्लाका विभिन्न २२ स्थानमा गरी ३ सय ४५ वटा पसल/व्यवसायको अनुगमन गरिएको प्रशासनद्धारा सार्वजनिक गरिएको विवरणमा उल्लेख छ । त्यस्तै उजुरी अनुसन्धान तथा कारबाही अन्तर्गत गत आर्थिक वर्षमा अख्तियार दुरुपयोग अनुसन्धान तथा अन्य नियामक निकायबाट प्राप्त १८ वटा उजुरी मध्ये १५ वटा फर्छोट भएको र ३ वटा फर्छोट हुन बाँकी रहेको, गृह मन्त्रालयबाट प्राप्त ४ वटा उजुरी मध्ये ३ वटा फर्छोट भएको र १ फर्छोट हुन बाँकी, वैदेशिक रोजगार सम्बन्धी ४४ वटा उजुरी दर्ता भएकामा ४४ वटा नै फर्छोट भएको र क्यूआर मार्फत प्राप्त ६ वटा उजुरीमा ६ वटै फर्छोट भएको जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी दिएको छ ।
सो अवधिमा समुदायमा लागू औषधसम्बन्धी सचेतनामूलक कार्यक्रम ५७ वटा गरेको, लागू औषध नियन्त्रण सम्बन्धी युवा लक्षित सचेतनामूलक (विद्यालय तथा समुदायमा) १० वटा कार्यक्रम, लागू औषध नियन्त्रण सम्बन्धी सरोकारवालाबिच ५ वटा बैठक गरेको जनाएको छ ।
त्यसैगरी जिल्लाका सरकारी तथा अर्धसरकारी साथै अन्य निकायहरुसँग सम्बन्धित गुनासोहरु क्यूआर कोर्ड मार्फत दिन सकिने व्यवस्था गरी शिघ्र कारबाही गर्ने व्यवस्था गरिएको, क्यूआर कोर्ड मार्फत नागरिक वडापत्र हेर्न सकिने व्यवस्था गरिएको, नागरिक एप मार्फत नागरिकताको विवरण सुधारका लागि आउने गुनासोहरुको तत्काल सम्बोधन गर्ने व्यवस्था गरिएको प्रशासनद्धारा सार्वजनिक गरिएको विवरणमा उल्लेख छ ।
स्थानीय तहबाट हालसम्म ३ सय ८ जनाको अस्थायी आवास निर्माणको लागि विपद् पोटलमा तथ्याङ्क प्रविष्टी भएको, अस्थायी आवास निर्माणको लागि दोरम्बा शैलुङ, खाँडादेवी, सुनापति, लिखु तामाकोसी, उमाकुण्ड गाउँपालिका र रामेछाप नगरपालिकाका १ सय ५३ घर परिवारलाई पहिलो किस्ता वापत प्रतिपरिवार २५,हजारका दरले रकम उपलब्ध गराएको छ, २०८१/०६/१० देखि १३ सम्म परेको अविरल बर्षाका कारण क्षति भएका आवास निर्माणको लागि नेपाल रेडक्रस सोसाइटी, रामेछाप शाखाबाट सञ्चालन हुने विपद् राहत र बुहुउद्देश्यीय नगद सहायता कार्यक्रम सञ्चालनका लागि सुनापति, खाँडादेवी गाउँपालिका र रामेछाप नगरपालिकामा सञ्चालनका लागि सहजीकरण गरेको, प्रतिघर परिवारलाई १५ हजारका दरले २ सय २४ घरपरिवारलाई ३३ लाख ६० हजार रुपैयाँ राहत वितरण गरिएको, विपद् सङ्कटग्रस्त जिल्ला घोषणा पश्चात जिल्ला विपद् व्यवस्थापन समिति मार्फत सबै पालिकाहरुलाई प्राप्त हुने ५०÷५० लाख रकम पालिकालाई वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
गृह मन्त्रालय र बागमती प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको समन्वयमा विपद् राहतका लागि ५ सय थान (गृह मन्त्रालयबाट १ सय थान ठुलो साइज) त्रिपाल र ४० थान टेन्ट जिल्ला विपद् व्यवस्थापन समितिलाई प्राप्त भएको लगायका कामहरु जिल्ला प्रशासन कार्यालय रामेछापद्धारा सार्वजनिक गरिएको विवरणमा उल्लेख गरिएको छ ।
आगलागि तथा बनडढेलो नियन्त्रणका लागि कार्ययोजना निर्माण गरी कार्यान्वयन गरिएको, अशक्त नागरिकलाई घरमै पुगेर नागरिकता वितरण गरिएको, अशक्तलाई कार्यालयमा ध्जभिि ऋजबष्च को व्यवस्था, सेवा प्रवाह सहजीकरणका लागि त्यपबल ःबअजष्लभ को व्यवस्था र जिल्लाका ६४ वटै वडाबाट नागरिकता अनलाइन सिफारिस गर्ने व्यवस्था गरिएको पनि उक्त विवरणमा उल्लेख गरिएको छ ।
