Logo

चाडपर्वको सांस्कृतिक महत्व जोगाउनु पर्नेमा रामेछापका सरोकारवालाको जोड



रामेछाप – नेपाल प्रेस युनियन रामेछापले दसैँ, तिहार तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी जनप्रतिनिधि, पत्रकार तथा सरकारी र गैरसरकारी कार्यालयका प्रमुखहरूले मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै चाडपर्वलाई सभ्य, सुरक्षित र मर्यादित रूपमा मनाउन आग्रह गरेका छन् ।

बुधवार सदरमुकाम मन्थलीस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा वक्ताहरूले चाडपर्वले समाजमा आपसी सद्भाव, एकता, आत्मीयता र सामाजिक मेलमिलाप बढाउने भएकाले तिनको सांस्कृतिक महत्व जोगाउनुपर्नेमा जोड दिए ।

जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्कीको प्रमुख आतिथ्यता तथा नेपाल प्रेस युनियन रामेछापका उपाध्यक्ष सागर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा खड्का कार्कीले नेपालीका मौलिक चाडपर्व संस्कृति र सम्पत्तिका रूपमा रहेको बताइन् । उनले चाडपर्वलाई मनोरञ्जन र उत्सवमा मात्र सीमित नराखी सामाजिक सम्बन्ध सुदृढ बनाउने माध्यमका रूपमा लिनुपर्ने धारणा राखिन् । उनले मौलिक परम्परा र संस्कृतिको संरक्षण गर्दै चाडपर्वको मौलिकता कायम राख्नुपर्ने बताइन् ।

कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ, रामेछाप नगरपालिकाका प्रमुख लव श्री न्यौपाने र लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले दसैँ, तिहार र छठजस्ता पर्वले समाजमा एकता र सद्भावको भावना बलियो बनाउने बताए । उनीहरूले चाडपर्व मनाउने क्रममा मौलिक संस्कृति, परम्परा र सामाजिक मूल्य–मान्यताको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

वक्ताहरूले विविध जातजाति, भाषा, धर्म र संस्कृतिले भरिएको नेपाली समाजमा चाडपर्वले आपसी सम्मान र सहअस्तित्वको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । चाडपर्वका अवसरमा परिवार, आफन्त र समुदायबीच भेटघाट तथा आत्मीयता बढ्ने भएकाले सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार हुनुपर्ने उनीहरूको भनाइ थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिक र महासंघ रामेछाप शाखाका अध्यक्ष दीपक घिमिरेलगायत पत्रकारहरूले पनि शुभकामना व्यक्त गरे । उनीहरूले पत्रकारहरूबीच आपसी एकता, सहकार्य र सद्भाव अभिवृद्धि गर्नुपर्नेमा जोड दिँदै यस्ता कार्यक्रमले पेसागत सम्बन्ध विस्तार गर्न सहयोग पुर्‍याउने बताए ।

त्यसैगरी, कार्यक्रममा सहभागी विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरूले चाडपर्व मनाउने क्रममा स्वास्थ्य र सुरक्षामा विशेष ध्यान दिन आग्रह गरे । चाडपर्वको उल्लासमा स्वास्थ्य र सुरक्षालाई बेवास्ता गर्न नहुने उल्लेख गर्दै उनीहरूले सचेत र जिम्मेवार भएर पर्व मनाउन सुझाव दिए ।

नेपाल प्रेस युनियन रामेछापले आयोजना गरेको कार्यक्रममा जनप्रतिनिधि, पत्रकार तथा विभिन्न सरकारी र गैरसरकारी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो । सहभागीहरूले दसैँ, तिहार तथा छठ पर्वले जिल्लावासीसहित सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र आपसी सद्भाव कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै शुभकामना आदानप्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्