रामेछाप- मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसले प्रविधिमैत्री तथा गुणस्तरीय शिक्षामा जोड दिँदै नयाँ विषय र संकाय थप्ने तयारी अघि बढाएको जनाएको छ । क्याम्पस प्रशासनले समय र प्रविधिको मागअनुसार शिक्षण सिकाइ प्रणालीलाई आधुनिकीकरण गर्दै विद्यार्थीलाई जिल्लामै गुणस्तरीय तथा सीपमूलक शिक्षा उपलब्ध गराउने लक्ष्य राखेको बताएको छ ।
क्याम्पस प्रमुख डा. भरतकुमार श्रेष्ठले अहिले शिक्षण सिकाइ प्रक्रियामा सूचना प्रविधिको प्रयोगलाई विशेष प्राथमिकता दिइएको बताए । “पहिले केही कक्षामा मात्र प्रोजेक्टर प्रयोग हुन्थ्यो, अहिले विस्तारै प्रत्येक कक्षामा स्मार्ट बोर्ड प्रयोग गर्ने प्रयास भइरहेको छ,” उनले भने । विद्यार्थीलाई प्रविधिसँग अभ्यस्त गराउँदै आधुनिक शैलीबाट पठनपाठन सञ्चालन गरिरहेको क्याम्पस प्रमुख श्रेष्ठले जानकारी दिए ।
उनकाअनुसार विगतमा ब्ल्याकबोर्डमार्फत पढाइ हुने गरे पनि अहिले समय परिवर्तनसँगै शिक्षण प्रणालीमा पनि व्यापक परिवर्तन आएको छ । “त्यो समयमा यस्ता सुविधा थिएनन्, त्यसैले त्यही सहज लाग्थ्यो । तर अहिलेको पुस्तालाई प्रभावकारी रूपमा पढाउन प्रविधिमैत्री शिक्षण अपरिहार्य भइसकेको छ,” उनले भने । क्याम्पसले शिक्षकहरूलाई समय–समयमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) सम्बन्धी तालिमसमेत दिँदै आएको छ ।
हाल क्याम्पसमा स्नातक तहमा बीए, बीएड र बीबीएस कार्यक्रम सञ्चालनमा रहेका छन् भने स्नातकोत्तर तहमा नेपाली र एमएड विषयमा एमए कार्यक्रम सञ्चालन भइरहेको छ । क्याम्पसमा हाल ५६४ विद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रमुख श्रेष्ठले बताए ।
विद्यार्थीहरूको नियमित उपस्थितिमा कमी आउन थालेपछि क्याम्पसले त्रिभुवन विश्वविद्यालयसमक्ष थप विषय तथा संकाय सञ्चालनको प्रस्ताव पेश गरेको जनाएको छ । प्रस्तावित विषयहरूमा मानविकी तथा समाजशास्त्र संकायअन्तर्गत रुरल डेभलपमेन्ट, समाजशास्त्र र राजनीतिक शास्त्र रहेका छन् । त्यस्तै शिक्षा संकायमा इङ्लिस र हेल्थ एजुकेशन तथा व्यवस्थापन संकायमा एमबीएस कार्यक्रम सञ्चालनको तयारी भइरहेको क्याम्पस प्रमुख श्रेष्ठले जानकारी दिए ।
जिल्लाभित्र नै उच्च शिक्षाका पर्याप्त अवसर सिर्जना गर्न सके विद्यार्थीहरूको बाहिरिने क्रम कम गर्न सकिने श्रेष्ठको भनाइ छ । क्याम्पसले सैद्धान्तिक शिक्षासँगै सीपमूलक शिक्षालाई पनि प्राथमिकता दिएको जनाएको छ । शिक्षा संकायका विद्यार्थीहरूलाई शिक्षक सेवा आयोग तयारी कक्षा सञ्चालन गरिएको छ भने अन्य विद्यार्थीहरूका लागि लोकसेवा आयोग तयारी कक्षा सञ्चालन भइरहेका छन् । व्यवस्थापन संकायका विद्यार्थीहरूलाई बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरी इन्टर्नसिपको अवसर प्रदान गरिएको क्याम्पसले जनाएको छ ।
सूचना प्रविधिको महत्वलाई ध्यानमा राख्दै क्याम्पसले कम्प्युटर ल्याब सञ्चालन गर्नुका साथै स्नातक तहका विद्यार्थीहरूलाई निःशुल्क कम्प्युटर तालिम पनि उपलब्ध गराउँदै आएको छ । यसले भविष्यमा विद्यार्थी सङ्ख्या वृद्धि हुने अपेक्षा गरिएको क्याम्पसले जनाएको छ ।
क्याम्पस रामेछाप जिल्लामै पहिलोपटक विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्राप्त गर्ने क्याम्पससमेत बनेको छ । हाल दोस्रो चरणको नवीकरण प्रक्रियाका लागि एलआईपी पेश गरिसकिएको क्याम्पसले जनाएको छ ।
मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा. टंकप्रसाद दाहालले विद्यार्थी सङ्ख्या घट्दै गएको बताए । विद्यार्थी सङ्ख्या घटेपनि शिक्षाको गुणस्तरमा कुनै कमी आउन नदिने उनले बताए । हाल स्नातक तहमा सञ्चालन भइरहेका बीए, बीएड र बीबीएस कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै विद्यार्थीलाई अध्ययनसँगै रोजगारीको अवसर दिने गरी कार्यक्रम अघि बढाइएको दाहालले बताए ।
उनकाअनुसार पछिल्लो समय विद्यार्थी सङ्ख्या घट्ने प्रवृत्ति देखिए पनि क्याम्पसमा दक्ष जनशक्ति रहेको र विद्यार्थीलाई व्यावहारिक तथा रोजगारीमुखी शिक्षा प्रदान गर्न विशेष पहल भइरहेको छ । व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीहरूलाई मन्थलीस्थित बैंक तथा वित्तीय संस्था, बचत तथा सहकारी संस्था लगायत विभिन्न कार्यालयमा “अन द जब ट्रेनिङ” को व्यवस्था गरिएको उनको भनाइ छ ।
उनले भने, “कतिपय विद्यार्थी व्यवस्थापन पढ्नका लागि काठमाडौं जाने गर्नुहुन्छ, तर हामीले यहाँ नै राम्रो सुविधा दिइरहेका छौँ ।” अध्ययनसँगै कार्य अनुभव प्राप्त गर्न सक्ने अवसर पनि सिर्जना भएको छ ।
त्यस्तै शिक्षा संकायमा अध्ययन गर्ने विद्यार्थीहरूलाई बिहान क्याम्पसमा अध्ययन गरेर दिउँसो नजिकका विद्यालयहरूमा अध्यापन गर्न सक्ने वातावरण बनाइएको छ । विशेषगरी अंग्रेजी, गणित तथा नेपाली विषयका शिक्षकको माग बढिरहेको अवस्थामा क्याम्पसले दक्ष शिक्षक उत्पादन गरिरहेको पूर्व क्याम्पस प्रमुख दाहालको भनाइ छ । यसले विद्यार्थीलाई अध्ययनसँगै आयआर्जनको अवसरसमेत प्रदान गरेको उनको भनाइ छ । यहीबाट गुणस्तरीय शिक्षा दिइरहेको भन्दै “घर नजिकै बसेर, डेरा नगरी अध्ययन गर्न सकिने वातावरण हुँदाहुँदै काठमाडौं वा अन्य शहरी क्षेत्रमा जानु आवश्यक नभएको” पनि दाहालको बताए ।
क्याम्पस सञ्चालक समितिका सदस्य नवीन घिमिरेले नमुना शैक्षिक संस्थाको रूपमा विकास गर्ने लक्ष्यसहित विभिन्न सुधारका कार्यक्रम अघि बढाइरहेको बताए । व्यवस्थापन, प्रविधिमैत्री शिक्षा, गुणस्तरीय पठनपाठन तथा नयाँ संकाय विस्तारमा समितिले सक्रिय भूमिका खेलिरहेको उनले बताए ।
घिमिरेका अनुसार क्याम्पसमा पुस्तकालय व्यवस्थापन, प्रविधिमैत्री शिक्षण प्रणाली तथा विद्यार्थी र कर्मचारीको गुणस्तर अभिवृद्धिमा विशेष ध्यान दिइएको छ । “विद्यार्थीलाई प्रविधिसँग कसरी जोड्ने, शिक्षण सिकाइलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा हामीले काम गरिरहेका छौँ,” उनले भने ।
सञ्चालक समितिले आवश्यकता अनुसार विभिन्न संकायमा आवश्यक शिक्षक तथा कर्मचारी व्यवस्थापनमा समेत ध्यान दिएको जनाएको छ । “कुन फ्याकल्टीमा कति स्टाफ आवश्यक छ, प्रशासनमा कस्तो जनशक्ति चाहिन्छ भन्ने विषयलाई मध्यनजर गर्दै व्यवस्थापन गरिरहेका छौँ,” घिमिरेले भने ।
क्याम्पसलाई रामेछाप जिल्लाकै नमुना क्याम्पस बनाउने लक्ष्यसहित नयाँ संकाय तथा विषय थप्ने पहल भइरहेको पनि उनले जानकारी दिए । साथै विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) को नवीकरणका लागि समेत प्रक्रिया अघि बढाइएको बताए ।
क्याम्पस प्रशासन, शिक्षक तथा सञ्चालक समितिबीच समन्वय गरेर शैक्षिक गुणस्तर सुधारका कार्यक्रम सञ्चालन भइरहेको उनले बताए । स्वतन्त्र विद्यार्थी युनियनमार्फत खेलकुद तथा विद्यार्थी सहभागितामूलक कार्यक्रमहरू सञ्चालन गरिनुका साथै छात्रवृत्ति व्यवस्थापनमा समेत पहल भइरहेको उनको भनाइ छ ।
पछिल्लो समय देशभर विद्यार्थी सङ्ख्या घट्दै गएको अवस्थालाई ध्यानमा राख्दै विद्यार्थी सहभागिता वृद्धि गर्ने योजनामा क्याम्पस केन्द्रित रहेको पनि घिमिरेले बताए । “हामीले विद्यार्थीलाई आकर्षित गर्न गुणस्तरीय शिक्षासँगै सहभागितामूलक वातावरण सिर्जना गर्ने प्रयास गरिरहेका छौँ,” उनले भने ।
