Logo

रामेछापका चार स्थानमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना



रामेछाप- चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले जिल्ला प्रहरी कार्यालय रामेछापले जिल्लाका चार स्थानमा यात्रु सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरेको छ । यात्रुलाई सहज, सुरक्षित र भरपर्दो यात्रा सुनिश्चित गर्ने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार मन्थली नगरपालिका–१ देवकोटा चोक, मन्थली नगरपालिका–६ सेलेघाट, लिखु तामाकोसी गाउँपालिका–६ खिम्ती र खाँडादेवी गाउँपालिका–३ सित्खामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

चाडपर्वका समयमा यात्रुको आवागमन बढ्ने भएकाले आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउन सहायता कक्ष स्थापना गरिएको जैसवारले बताए । यात्राका क्रममा कुनै समस्या परे यात्रुले सहायता कक्षमा सम्पर्क गर्न सक्नेछन् ।


सहायता कक्षमा यात्रुका गुनासा तथा यात्राका क्रममा आइपर्ने समस्याबारे जानकारी लिइनेछ । यात्रु कहाँबाट आएको र कहाँ जाने हो भन्नेसहित आवश्यक विवरणसमेत अभिलेख राखिने प्रहरीले जनाएको छ ।
चाडपर्वका बेला सवारीसाधनको आवागमन बढ्दा सडक तथा यातायात व्यवस्थापनमा दबाब पर्ने भएकाले यात्रुको समस्या तत्काल सम्बोधन गर्न सहायता कक्ष प्रभावकारी हुने प्रहरीको अपेक्षा छ ।
यात्रुलाई सुरक्षित यात्राका लागि आवश्यक सुझाव तथा जानकारीसमेत प्रदान गरिनेछ । सवारी दुर्घटना न्यूनीकरणका लागि चालक तथा यात्रुलाई सावधानी अपनाउन र गन्तव्यसम्म सुरक्षित रूपमा पुग्न सचेत गराइने जैसवारले बताए ।


सहायता कक्षमा खटिने प्रहरी कर्मचारीले यात्रुको समस्या सुन्ने, आवश्यक जानकारी दिने तथा सम्बन्धित निकायसँग समन्वय गरी समाधानका लागि पहल गर्नेछन् ।
चाडपर्वका बेला यात्रुको सुरक्षित आवागमन, दुर्घटना न्यूनीकरण तथा यात्रुसँग सम्बन्धित गुनासो व्यवस्थापनमा सहायता कक्षले महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । साथै प्रहरीले ट्राफिक नियमसम्बन्धी चेतनामूलक सन्देश भएका पम्प्लेटसमेत सवारीसाधनमा टाँस्ने कार्य गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्