रामेछाप- रामेछाप जिल्लाका तीन पालिकामा नापतौलका उपकरण परीक्षण, प्रमाणीकरण, दर्ता तथा नवीकरणसम्बन्धी डोर शिविर सञ्चालन गरिएको छ । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरको प्राविधिक सहयोगमा रामेछाप उद्योग वाणिज्य सङ्घको समन्वय तथा स्थानीय तहको सहकार्यमा उक्त डोर शिविर सञ्चालन गरिएको हो । यही जेठ ५ गतेदेखि ८ गतेसम्म सञ्चालन गरिएको शिविर खाँडादेवी गाउँपालिका, सुनापति गाउँपालिका र मन्थली नगरपालिकामा गरी तीन स्थानमा सञ्चालन गरिएको रामेछाप उद्योग वाणिज्य सङ्घका कार्यकारी अधिकृत नवीन घिमिरेले जानकारी दिए । कार्यकारी अधिकृत घिमिरेका अनुसार उक्त शिविरमा व्यवसायीहरुले प्रयोग गर्दै आएको ढक, तराजु, मिटर र लिटरलगायतका उपकरणहरुको परीक्षण, नवीकरण तथा प्रमाणीकरण गरिएको थियो । साथै नयाँ उपकरण दर्ता पनि गरिएको थियो ।
शिविर अन्तर्गत खाँडादेवी गाउँपालिकामा ४९ जना, सुनापति गाउँपालिकामा ३७ जना र मन्थली नगरपालिकामा ८८ जना व्यवसायीहरुले सेवा लिएको रामेछाप उद्योग वाणिज्य सङ्घले जानकारी दिएको छ । मन्थलीमा सञ्चालन गरिएको शिविरमा रामेछाप नगरपालिकाका व्यवसायीहरुसमेत आफ्ना नापतौलका उपकरणहरु परीक्षण गराउन आएका थिए । सुनचाँदी, डेरी र हार्डवेयरले प्रयोग गर्ने नापतौलका उपकरण प्रत्येक एक वर्षमा परीक्षण तथा प्रमाणीकरण गराउनु पर्दछ भने खाद्यान्न तौलका लागि प्रयोग गरिने उपकरण प्रत्येक २ वर्षमा परीक्षण तथा प्रमाणीकरण गराउनु पर्दछ ।
गुणस्तर तथा नापतौल कार्यालय जनकपुरका कार्यालय प्रमुख सुनिल कुमार यादवले रामेछापमा नापतौल कार्यालय नभए पनि रामेछाप उद्योग वाणिज्य सङ्घले समन्वय गरी सरकारले गर्नुपर्ने कार्यमा सहयोग गरेको बताए । रामेछाप उद्योग वाणिज्य सङ्घको समन्वयमा रामेछापका व्यवसायीहरुले प्रयोग गरिरहेको नापतौलसम्बन्धी उपकरणहरुको परीक्षण तथा प्रमाणीकरण कार्य नियमित रुपमा गर्दै आएको पनि उनले बताए । आगामी दिनमा पनि रामेछाप जिल्लाका जुनसुकै ठाउँमा नापतौलसम्बन्धी शिविर सञ्चालनका लागि कार्यालय तयार रहेको पनि उनले बताएका छन् ।
रामेछाप उद्योग वाणिज्य सङ्घले २ दशकदेखि गुणस्तर तथा नापतौल कार्यालयको प्राविधिक सहयोग तथा स्थानीय सरकारको सहकार्यमा जिल्लामा नापतौलका उपकरणको परीक्षण, प्रमाणीकरण, दर्ता तथा नवीकरण कार्यक्रम गर्दै आएको छ । रामेछाप उद्योग वाणिज्य सङ्घले स्थानीय सरकारको सहकार्यमा आर्थिक वर्ष २०८३/०८४ मा दोरम्बा शैलुङ गाउँपालिका, उमाकुण्ड गाउँपालिका र लिखु तामाकोसी गाउँपालिकालाई समेत समेटेर डोर शिविर सञ्चालन गर्ने रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाशकुमार श्रेष्ठले जानकारी दिए ।
शुक्रवार मन्थलीमा आयोजना गरिएको नापतौलका उपकरण परीक्षण तथा प्रमाणीकरण कार्यक्रम मन्थली नगरपालिकाको सहकार्यमा सञ्चालन गरिएको रामेछाप उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष आकाश रिजालले बताए । रामेछाप जिल्लामा नापतौल कार्यालय नभए पनि जिल्लामा कार्यालय भएसरह नै गुणस्तर तथा नापतौल कार्यालयले सेवा उपलब्ध गराएको उनको भनाइ छ । रामेछापमा आएर डोर शिविरमार्फत जिल्लाका सेवाग्राहीहरुलाई सहज सेवा प्रदान गरिदिएकोमा उनले कार्यालयलाई धन्यवादसमेत व्यक्त गरे ।
डोर शिविरका क्रममा ढक, तराजु, मिटर, लिटरलगायतका उपकरणहरुको परीक्षण, प्रमाणीकरण तथा दर्ता, नवीकरण साथै नापतौल उपकरणसम्बन्धी विस्तृत छलफल तथा अन्तरक्रिया समेत गरिएको थियो । अन्तरक्रिया कार्यक्रममार्फत स्थानीय व्यवसायी, उद्योगी तथा सरोकारवालालाई नापतौलसम्बन्धी कानुनी व्यवस्था र यसको महत्वबारे जानकारी गराउँदै उपभोक्ता अधिकार संरक्षणमा जोड दिइएको थियो ।
