रामेछाप-नेपाली काङ्ग्रेस रामेछापले पार्टी सङ्गठनलाई थप सुदृढ र व्यवस्थित बनाउने उद्देश्यसहित ‘जरा अभियान’ सुरु गरेको छ । शुक्रवारदेखि सुरु भएको उक्त अभियान आगामी जेठ २१ गतेसम्म सञ्चालन हुने जनाइएको छ । अभियानमार्फत पार्टीका क्रियाशील सदस्यहरूको सदस्यता अद्यावधिक तथा डिजिटल प्रणालीमा रूपान्तरण गरिने भएको छ ।
पार्टीका पूर्व केन्द्रीय सदस्य तथा रामेछापका लागि तोकिएका केन्द्रीय प्रतिनिधि किरण गिरीको उपस्थितिमा सदरमुकाम मन्थलीस्थित बीपी स्मृति भवनमा आयोजित जिल्ला भेलामार्फत अभियानको औपचारिक शुभारम्भ गरिएको हो । कार्यक्रममा जिल्लाका विभिन्न तहका नेता, कार्यकर्ता तथा पार्टीका जिम्मेवार प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
भेलामा जरा अभियानको उद्देश्य, कार्यविधि तथा सदस्यता अद्यावधिकका लागि प्रयोग गरिने डिजिटल प्रणालीबारे जानकारी गराइएको थियो । पार्टीले तयार पारेको सफ्टवेयरमार्फत अब सदस्यता नवीकरण र अद्यावधिकको काम डिजिटल माध्यमबाट गरिनेछ । अभियानअन्तर्गत जिल्लाका सबै वडामा रहेका साविकका क्रियाशील सदस्य तथा पार्टीसँग आबद्ध नेता–कार्यकर्ताहरूलाई समेटेर विवरण अद्यावधिक गरिने जनाइएको छ ।
कार्यक्रमममा बोल्दै नेपाली काङ्ग्रेस रामेछापका कार्यबाहक जिल्ला सभापति नवराज थोकरले पार्टीलाई समयअनुकूल प्रविधिमैत्री बनाउँदै सङ्गठन सुदृढीकरणमा अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले पार्टीभित्र रहेका सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अभियान सफल बनाउन आग्रह गरे । जरा अभियानलाई केवल सदस्यता नवीकरणको कार्यक्रम मात्र नभई सङ्गठनलाई पुनर्जीवित बनाउने अभियानका रूपमा लिनुपर्ने उनको भनाइ थियो ।
उपसभापति लेखबहादुर कार्कीले नेपाली काङ्ग्रेसको सिद्धान्त र विचारप्रति प्रतिबद्ध सबै व्यक्तिहरू पार्टीभित्र अट्ने स्पष्ट पारे । विगतमा जस्तो अव्यवस्थित र लापरबाही ढङ्गबाट सदस्यता वितरण हुँदा समस्या सिर्जना भएकाले अहिले सदस्यता प्रणालीलाई व्यवस्थित बनाउन अभियान थालिएको उनले बताए । यस अभियानले पार्टीभित्र सदस्यताको शुद्धीकरण हुने विश्वास व्यक्त गर्दै कार्कीले आन्तरिक असन्तुष्टिलाई संवादमार्फत समाधान गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
त्यस्तै, पार्टीका नेता तथा निवर्तमान जिल्ला सभापति लबश्री न्यौपानेले विगतमा रहेका क्रियाशील सदस्यहरूको सङ्ख्यालाई कायम राख्दै अझ व्यापक रूपमा अभियान सञ्चालन गर्नुपर्ने बताए । पार्टीभित्र निष्क्रिय तथा असन्तुष्ट रहेका कार्यकर्ताहरूलाई पनि एकताबद्ध गर्दै अघि बढ्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो ।
पूर्व जिल्ला सभापति तथा पार्टी नेता रामचन्द्र खड्काले नेपाली काङ्ग्रेसको इतिहास लोकतन्त्र र सङ्घर्षसँग जोडिएको स्मरण गराउँदै अहिले पनि पार्टीले चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको बताए । उनले पार्टीभित्र बढ्दै गएको दण्डहीनताले सङ्गठन कमजोर बनाएको उल्लेख गर्दै अनुशासन र जिम्मेवारीको भावना विकास गर्न आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा केन्द्रीय प्रतिनिधि किरण गिरीले नेपाली काङ्ग्रेस कुनै एउटा निर्वाचन हार्दैमा समाप्त नहुने बताए । काङ्ग्रेसको इतिहास सङ्घर्ष, त्याग र लोकतान्त्रिक मूल्यको संरक्षणसँग जोडिएको भन्दै उनले पार्टीलाई पुनः जनताको विश्वास जित्ने गरी अघि बढाउन सदस्यता अद्यावधिक अभियान महत्वपूर्ण हुने बताए । लोकतन्त्र, संविधान र नागरिक अधिकारको रक्षाका लागि भविष्यमा पनि काङ्ग्रेसले नै नेतृत्वदायी भूमिका खेल्ने उनको दाबी थियो ।
कार्यक्रमका सहभागीहरूले पनि अभियानलाई प्रभावकारी बनाउन वडा तहसम्म सक्रिय रूपमा परिचालन हुनुपर्नेमा जोड दिएका थिए । अभियानका क्रममा पार्टीका सबै तहका जिम्मेवार नेताहरूलाई आ–आफ्नो क्षेत्रमा पुगेर सदस्यता अद्यावधिक कार्यलाई तीव्रता दिन आग्रह गरिएको छ ।
नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनका बेला रामेछापमा करिब ९ हजार ७ सय क्रियाशील सदस्य कायम रहेका थिए । अहिलेको अभियानमार्फत ती सदस्यहरूको विवरण डिजिटल प्रणालीमा अद्यावधिक गरिने काङ्ग्रेस रामेछापले जनाएको छ । पार्टीले यसलाई सङ्गठन सुदृढीकरण, सदस्यता व्यवस्थापन र आगामी राजनीतिक तयारीसँग जोडेर अगाडि बढाएको जनाएको छ ।
