Logo

रामेछाप कारागारमा कैदीबन्दीबाट रकम असुली गरेको आरोप, जेलरमाथि कारबाहीको माग



रामेछाप- कारागार कार्यालय रामेछापमा कार्यरत कार्यालय प्रमुख (जेलर) अरुण तिमल्सिनाविरुद्ध कैदीबन्दीबाट रकम असुली, कानुनविपरीत जिम्मेवारी बाँडफाँट तथा मानसिक यातना दिएको आरोप लगाउँदै प्रधानमन्त्री तथा गृहमन्त्रीसमक्ष उजुरी दिइएको छ ।

कारागारमा कैद जीवन बिताइरहेका थुनुवा तथा कैदीबन्दीहरूले संयुक्त रूपमा दिएको निवेदनमा जेलर तिमल्सिनाले नीति, विधि र कानुनविपरीत काम गर्दै कारागारभित्र असुरक्षा बढाएको उल्लेख गरेका छन् । उनीहरूले तत्काल अनुसन्धानका लागि जेलरलाई नियन्त्रणमा लिएर कारबाही गर्नसमेत माग गरेका छन् ।

उजुरीअनुसार आर्थिक वर्ष २०८२/८३ का लागि कारागार व्यवस्थापन विभाग र जिल्ला प्रशासन कार्यालयको निर्णयअनुसार चौकीदार पदमा नियुक्त भएका ओम विकलाई काम गर्न रोक लगाई अपहरण तथा कर्तव्य ज्यान मुद्दाका प्रतिवादी शरणकुमार राईलाई मौखिक रूपमा चौकीदारको जिम्मेवारी दिइएको आरोप छ ।

निवेदनमा जेलर तिमल्सिनाले आर्थिक चलखेलमार्फत राईलाई आउटडोर सुविधा उपलब्ध गराएर चौकीदारको भूमिका सुम्पिएको र उनीमार्फत कैदीबन्दीसँग रकम असुली भइरहेको दाबी गरिएको छ ।
कैदीबन्दीहरूले शरणकुमार राईले जेलभित्र डर, धम्की र मानसिक यातना दिने, सरकारी सेवा–सुविधा समयमा उपलब्ध नगराउने, गुनासोको सुनुवाइ नगर्ने तथा रकम असुल्ने कार्य गर्दै आएको आरोप लगाएका छन् । “केही समस्या आए सबै दोष आधिकारिक चौकीदारमाथि जाने” भन्दै कैदीबन्दीलाई त्रसित बनाउने गरेको निवेदनमा उल्लेख छ ।

यस्तै, जेलर तिमल्सिनाले थुनुवा कक्षमै प्रवेश गरी कैदीबन्दीलाई धम्क्याउने, खानपिनको व्यवस्था गर्न दबाब दिने, उत्पादन गरेका सामग्री माग्ने तथा बाहिरबाट मगाइएका सामानमा समेत कमिसन माग्ने गरेको आरोप पनि लगाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण विभाग, कारागार व्यवस्थापन विभाग र जिल्ला प्रशासन कार्यालय रामेछापलाई बोधार्थ उल्लेख गरिएको उक्त निवेदनमा कैदीबन्दीहरूले कारागारभित्र निरीक्षणका क्रममा स्वतन्त्र रूपमा गुनासो राख्न नपाइने, सीमित व्यक्तिलाई मात्र बोल्न दिइने तथा कसैले समस्या उठाएपछि शारीरिक र मानसिक यातना दिने गरिएको दाबी गरेका छन् ।
उनीहरूले जेलर अरुण तिमल्सिना र शरणकुमार राईमाथि निष्पक्ष छानबिन गरी कैदीबन्दीबाट असुलिएको रकम फिर्ता गराउन तथा कानुनअनुसार कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
यस विषयमा कारागारका थुनुवा कैदीवन्दीसँग रकम असुली गरेको र आफु विरुद्ध उजुरी परेको सूचना आफुले थाहा नपाएको कारागार कार्यालय रामेछापका प्रमुख अरुण तिमल्सिनाले बताए ।

उनले भने– म यस कार्यालयमा हाजिर भएको जम्माजम्मी दुई महिना भयो । आफू आउनुभन्दा अगाडि नै चौकीदार विकलाई हटाएर राईलाई मौखिक काम गर्ने गरी जिम्मेवारी दिएको भन्दै चालु आर्थिक वर्षमा आफूले केही पनि गर्न नसक्ने बताए । नयाँ आर्थिक वर्ष सुरु भएपछि चौकीदार फर्ने कारागार कार्यालय प्रमुख तिमल्सिनाले बताए ।

प्रतिक्रिया दिनुहोस्