रामेछाप । रामेछाप नगरपालिका–१ का वडाध्यक्ष रेखबहादुर खत्रीले पदबाट राजीनामा दिएका छन् । कार्यकाल सकिन केही महिना मात्रै बाँकी रहँदा खत्रीले वडाको आवश्यकता, स्थानीयवासीका माग तथा जनसरोकारका विषयलाई अपेक्षित प्राथमिकता नदिइएको भन्दै बुधबार नगरप्रमुखसमक्ष राजीनामा बुझाएका हुन् ।
खत्रीले आफ्नो राजीनामा तत्काल स्वीकृत गरिदिन नगरप्रमुखसमक्ष आग्रह गरेका छन् । नगरपालिकाको पछिल्लो कार्यशैली, निर्णय प्रक्रिया तथा जनप्रतिनिधिका रूपमा प्रभावकारी ढंगले काम गर्ने वातावरण असहज बन्दै गएको भन्दै उनले राजीनामा दिनुपरेको बताएका छन् ।
दुई पृष्ठ लामो राजीनामा पत्रमा खत्रीले वडा नम्बर १ का आवश्यकता, स्थानीयवासीका माग र स्थानीय समस्यालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने अवस्थामा कतिपय विषयमा अल्पमत र बहुमतका आधारमा व्यवहार हुने गरेको गुनासो गरेका छन् । वडाका जायज माग र आवश्यकतालाई अपेक्षित प्राथमिकता नदिइएको तथा विकास र जनसरोकारका विषयमा समान दृष्टिकोण कायम हुन नसकेको उनको भनाइ छ ।
निर्वाचित भएपछि जनतासमक्ष गरेका कतिपय प्रतिबद्धता र अपेक्षाअनुसारका काम कार्यान्वयनमा आउन नसक्दा वडावासीको अपेक्षा पूरा गर्न थप कठिनाइ भएको पनि खत्रीले उल्लेख गरेका छन् ।
स्थानीय तहमा जनताको उचित माग र वडाको हितभन्दा व्यक्तिगत असहमति, पूर्वाग्रह वा आन्तरिक मतभेदले प्राथमिकता पाउने अवस्था देखिनु लोकतान्त्रिक स्थानीय शासनको मर्मअनुकूल नभएको उनले बताएका छन् ।
‘जनताको पक्षमा प्रभावकारी रूपमा काम गर्न आवश्यक वातावरण, सहकार्य, समान व्यवहार र संस्थागत समन्वय कायम हुन नसकेको अवस्थामा पदमा निरन्तर रहिरहनु स्वयं वडावासीप्रतिको जिम्मेवारीसँग न्याय नहुने’ निष्कर्षमा पुगेपछि राजीनामा दिने निर्णय गरेको खत्रीले स्पष्ट पारेका छन् ।
यद्यपि, आफ्नो राजीनामा कुनै व्यक्तिविशेषप्रति आरोप लगाउने वा व्यक्तिगत असन्तुष्टि व्यक्त गर्ने उद्देश्यले नभएको उनले बताएका छन् । जनप्रतिनिधिका रूपमा वडावासीको हितमा प्रभावकारी काम गर्न आवश्यक वातावरण निर्माण हुन नसक्नु नै राजीनामाको मुख्य कारण रहेको उनको भनाइ छ ।
रामेछाप नगरपालिकामा नगरप्रमुख र उपप्रमुखसहित नौमध्ये सात वटा वडा नेपाली कांग्रेसले जितेको थियो । खत्री पनि नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । स्थानीय तह निर्वाचनपछि नगरपालिकाको नेतृत्वसँग उनको सम्बन्ध सुमधुर नरहेको विषय पटक–पटक सार्वजनिक हुँदै आएको थियो ।
नगरप्रमुख लवश्री न्यौपानेसँगको सम्बन्धलाई लिएर खत्रीले यसअघि सामाजिक सञ्जालमार्फत समेत असन्तुष्टि व्यक्त गर्दै आएका थिए । पछिल्लो समय नगरपालिकाको सञ्चालन शैली तथा निर्णय प्रक्रियाप्रति उनको असन्तुष्टि थप सार्वजनिक हुँदै आएको थियो ।
खत्रीले बुधबार मध्याह्न आफ्नो राजीनामा पत्र सामाजिक सञ्जाल फेसबुकमार्फत समेत सार्वजनिक गरेका थिए । राजीनामा सार्वजनिक भएपछि नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता तथा शुभेच्छुकहरूले भने उनलाई निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा आएका प्रतिक्रियामा कार्यकालको अन्तिम चरणमा राजीनामा दिनुभन्दा उत्पन्न समस्या समाधानका लागि पहल गर्न र हतारमा निर्णय नगर्न आग्रह गरिएको छ । कतिपयले पार्टी तथा जनप्रतिनिधिबीच छलफल गरेर विवाद समाधान गर्नुपर्ने धारणा राखेका छन् ।
खत्रीको राजीनामा स्वीकृत भए कार्यकाल सकिन केही महिना बाँकी रहँदै रामेछाप नगरपालिका–१ को वडाध्यक्ष पद रिक्त हुनेछ । राजीनामा स्वीकृत गर्ने वा नगर्ने तथा त्यसपछि वडा सञ्चालन र आगामी प्रक्रियाबारे नगरपालिकाले गर्ने निर्णय भने सार्वजनिक हुन बाँकी छ ।
