रामेछापकी नेकपा एमाले नेतृ कार्कीद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

 आइतवार, असार १३, २०७८ | onlinenews
Share this

प्रकाश न्यौपाने


रामेछाप- कोरोना भाइरस कोभिड १९ को दोस्रो लहरको संक्रमण बढेसँगै गाउँगाउँमा स्वास्थ्य सामग्रीहरुको प्राप्यता थप प्रभावकारी हुँदै गएको छ । विभिन्न दाताहरुले आफ्नै स्वलगानी तथा सहयोग जुटाएर स्वास्थ्य सामग्रीहरुको उपलब्धतालाई निकै सहज बनाएका छन् ।
यस्तै क्रममा नेकपा एमाले रामेछापकी नेतृ गीता कार्कीले गोकुलगंगा र उमाकुण्ड गाउँपालिकामा विभिन्न स्वास्थ्य सामग्रीहरु प्रदान गरेकी छिन् । नेपाल सरकारको स्वास्थ्य सेवा विभागसँगको समन्वयमा कार्कीले आइतबार सो स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् । करिब ७ लाख रुपैयाँ बराबरका स्वास्थ्य समाग्रीहरु गोकुलगंगा गाउँपालिकामा प्रदान गरिएको कार्कीले बताएकी छिन् । अक्सिजन सिलिण्डर ३ थान, अक्सिजन कन्सन्ट्रेटर २ थान, एण्टीजिन किट् १ सय थान, एन ९५ माक्स ५० थान, साधारण माक्स २०० थान स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । त्यस्तै सेनिटाइजर १० लिटर, कम्बोट १५ थान, पिपिइ सेट १सय थान, चिकित्सक गाउन सेट १ सय थान, फेस सिल ५० थान र थर्मल गन २ थान गरी जम्मा १२ प्रकारका स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।


गोकुलगंगा गाउँपालिकाका स्वास्थ्य प्रमुख जागिर चौधरी र पालिका प्रमुख खड्कबहादुर सुनुवारलाई गोकुलगंगा अस्पतालको प्राङ्गणमा सो स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको सो कार्यक्रममा सहभागी कोटेश्वर बहुमुखी क्याम्पस काठमाडौंका विद्यार्थी नेता गणेश बुढाथोकीले जनता भ्वाइसलाई जानकारी दिए । कार्कीको समन्वयमा संकलन गरिएको उक्त स्वास्थ्य सामग्री गोकुलगंगा गाउँपालिकाका स्वास्थ्य प्रमुख चौधरीलाई प्रदान गरिसकेपछि पालिका प्रमुख सुनुवारले आफूहरुलाई यस्ता सामग्रीहरुको निकै जरुरी भएको र दाताले दिनुभएको यस्ता सामग्रीले पालिकाबासीको स्वास्थ्यमा थप सहयोग पुग्ने बताए । ‘हामीले सकेसम्मको प्रयास कोरोना रोकथामका लागि गरिरहेकै छौं । सो कार्यमा थप सहयोग पुर्याउन दाताहरुले गर्नुभएको योगदानको भोलिका दिनमा अझ बढी कदर हुँदै जानेछ । गीता कार्कीले संयोजन गर्नुभएका यी स्वास्थ्य सामग्रीहरु गोकुलगंगा बासीहरुका लागि संजीवनी सावित हुनेछन् ।’ सुनुवारले भने ।

उमाकुण्ड गाउँपालिकालाई पनि सहयोग

गोकुलगंगा गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकेपछि सोही ठाउँबाट उमाकुण्ड गाउँपालिकालाई समेत विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्थानीय नेकपा एमालेका नेता चित्रबहादुर कार्कीलाई अक्सिजन कन्सन्टेटर १ थान, अक्सिजन सिलिण्डर २ थान र ५० थान एण्टीजिन किट हस्तान्तरण गरिएको हो । आफ्नो पालिकालाई प्राप्त स्वास्थ्य सामग्री सहयोगले आफ्ना गाउँपालिकाबासीले स्वास्थ्य लाभ गर्न सक्ने कार्कीले प्रतिक्रिया दिएका छन् ।


विगतका दिनहरुमा रामेछापका विभिन्न पालिकाहरुमा समेत स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकेकी कार्कीले यो सघन अवस्थामा जिल्लाका सबै पालिकाहरुमा आफ्ले सकेको सहयोग गर्ने बताएकी छिन् । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम पछि कार्यक्रमको प्रतिक्रिया दिँदै कार्कीले आफूले आफ्ना जिल्लाबासीहरुका लागि जस्तोसकुै अवस्थामा पनि सेवा गर्न तयार रहेको बताएकी छन् । ‘यो महामारीको अवस्थामा हामीले कुनै राजनैतिक विचार र आस्थाका आधारले हेरेर हुँदैन । चुनाव र भोट भनेको भोलि हामी बाँच्दा मात्रै चाहिने कुरा हो । पहिला हामी सबैजना बाँच्नु पर्छ, बाँच्नका लागि एकले अर्कोलाई हातमा हात राखेर सहयोग गरौं । आज मैले मेरो पहुँचले भ्याएसम्म सहयोग गर्न सकें । अब अरुले पनि रामेछापेली नागरिकहरुका लागि यो अवस्थामा केही सहयोग गर्न सक्नु पर्छ ।’ कार्की बताउँछिन् ।
राजनीतिमा महिला सहभागीता र महिलाहरुको सार्थक पहुँचलाई सदैव मूल मुद्धा बनाउँदै आएकी नेतृ कार्कीका पछिल्ला दिनमा अझ महिलाका आवाजहरुलाई बढी निखार बनाउँदै लगेकी छिन् । कार्कीको व्यक्तिगत सहयोगमा प्रेस चौतारी रामेछापलाई समेत माक्स, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्रीहरु समेत प्रदान गरिएको प्रेस चौतारी रामेछापले बताएको छ ।

Share this

प्रतिकृया

Add