संविधान दिवसमा रामेछाप कारागारबाट १३ जना कैदी छुटे

 आइतवार, अशोज ३, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रामेछाप । सातौँ संविधान दिवसको अवसरमा जिल्ला कारागार रामेछापबाट १३ जना कैदीबन्दी छुटेका छन् । बिभिन्न कसुरको मुद्दामा दोषि ठहर भई ५० प्रतिशत कैद भुक्तान गरिसकेका ११ जना पुरुष र २ जना महिला गरी १३ जना कैदीबन्दी आज छुटेका हुन् ।
कैदमुक्त हुनेहरुमा सुनापती गाउँपालिकाका सत्यराम तामाङ, रामेछाप नगरपालिकाका हिरालाल कामी र मिना दमाई रहेका छन् । त्यसैगरी सर्लाही जिल्लाका मुकेश पण्डित र सविन महतो, रुपन्देही जिल्लाका अर्जुन सिंह र सन्तराम गुप्ता, धनुषा जिल्लाका उमेश मुखिया, उदयपुर जिल्लाका अमृत बहादुर कार्की, मनोज परियार र जनकुमारी राई, कालिकोटका सरोज कार्की र नुवाकोटका रामकुमार प्याकुरेलको बाँकी कैद सजाय कट्टा गरिएको जिल्ला कारागार रामेछापका जेलर रामकृष्ण घिमिरेले जानकारी दिए ।
कारागार ऐन, २०१९ र कारागार नियमावली २०२० अनुसार ५० प्रतिशत कैद भुक्तान गरिसकेका १६ जनाको बाँकी कैद कट्टाका लागि जिल्ला कारागार रामेछापले कारगार व्यवस्थापन विभागमा सिफारिस गरेको थियो । विभागमार्फत गृह हुँदै मन्त्रीपरिषदको रिफारिसका आधारमा राष्ट्रपति कार्यालयले जिल्ला कारागार रामेछापमा रहेका १३ जना कैदीबन्दीको कैद कट्टा गरिदिएको हो । कैद कट्टा भई छुट्नेमा कर्तव्य ज्यान मुद्दाका आठ जना, ज्यान मार्ने उद्योग कसुर मुद्दाका एक जना, ज्यान सम्बन्धी कसूर मुद्दाका एक जना, सवारी ज्यान सम्बन्धी कसूर मुद्दाका एक जना, बहुविवाह सम्बन्धी कसूर मुद्दाका २ जना रहेको जिल्ला कारागार रामेछापका जेलर घिमिरेले बताए । उनका अनुसार अहिले जिल्ला कारागार रामेछापमा २ सय ८५ जना पुरुष र १८ जना महिला गरी जम्मा ३ सय ३ जना कैदीले कैद भुक्तान गरिरहेका छन् ।

Share this

प्रतिकृया

Add