जीप दुर्घटनामा घाइते भएकी काँग्रेस नेतृको उपचारको क्रममा मृत्यु

 आइतवार, अशोज १०, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रामेछाप । नेपाली काँग्रेसका कार्यकर्ता सवार जिप दुर्घटनामा परी गम्भीर घाइते भएकी शारदा खत्रीको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएकी सुनापती गाउँपालिका–३ की ४६ वर्षीय शारदा खत्रीको उपचारको क्रममा काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालमा मृत्यु भएको हो । खत्री नेपाली काँग्रेसकी कार्यकर्ता रहेकी थिइन ।
दुर्घटनामा चालक २३ वर्षीय रामकुमार लामासहित नेपाली काँगे्रस रामेछापका उपसभापति ५० वर्षीय जितेन्द्र मोक्तान, काँग्रेस कार्यकर्ता ७५ वर्षीय मेगबहादुर खत्री र ४८ वर्षीय प्रकाश गौतम घाइते भएका थिए ।
घाइते प्रकाश गौतम उपचारपछि डिस्चार्ज भइसकेका छन् । घाइते खत्री, मोक्तान र लामाको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए ।
काठमाडौँबाट सुुनापती गाउँपालिकाको हिलेदेवीतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च १४४० नम्बरको बोलेरो जिप सोही गाउँपालिकाको वडा नं. ४ बेथानको पानीघाट नजिकैको भिरबाट शनिबार साँझ खस्दा जीपमा सवार पाँच जना घाइते भएका थिए । उनीहरु कांग्रेसको आज हुने पालिकास्तरको अधिवेशनमा भाग लिनका आएका थिए ।

Share this

प्रतिकृया

Add