वर्षाले बिग्रिए भत्केका सडक दशैँपछि मात्रै पूर्ण मर्मत गरिने

 सोमवार, अशोज १८, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रामेछाप । जिल्लामा वर्षाका कारण बिग्रिएका भत्किएका सडक दशैँपछि मात्रै पूर्णरुपमा मर्मत गरिने भएको छ । गत जेठ २८ गतेदेखि सुरु भएर हालसम्म जारी रहेको मनसुनका कारण भएको वर्षापछि आएको बाढी, पहिरोको कारण अवरुद्ध भएका सडकहरुको मर्मत तथा सरसफाई दशैँ तिहारपछि मात्रै गरिने पूर्वाधार विकास कार्यालय रामेछापले जनाएको छ ।
यस वर्षको बाढी, पहिरोका कारण जिल्लाका धेरै सडकहरुमा पहिरो खसेर नाला पुरिएको र सडकमा लगाइएका पर्खाल भत्किएको पूर्वधार विकास कार्यालय रामेछापका सूचना अधिकारी पुरोषत्तम महर्जनले बताए ।
तर, बाढी, पहिरोका कारण पूर्ण रुपमा सडक अवरुद्ध भएको अवस्था चाहिँ अहिले कुनै पनि सडमा नभएको उनले बताए ।
सवारी साधन आवतजावत गर्न कुनै समस्या नभएको उनको भनाई छ । दशैँ, तिहार नजिकिएसँगै ग्रामिण सडकहरुमा सवारीको चाप बढ्न थालेको छ । अहिले बिग्रे, भत्केका सडक मर्मतको काम भइरहेको कार्यालयका सूचना अधिकारी महर्जनले बताए ।
जिल्लाका सबैजसो सडकमा सवारी सञ्चालनमा रहेको पनि उनले जानकारी दिए । आफूहरुले निर्माण व्यवसायीलाई बिग्रे, भत्केका सडक निर्माणको कामलाई मर्मत तथा सरसफाई गर्न आग्रह गरिसेकेका छौं उनले भने ।
जिल्लाका सित्खा–भीरपानी–गोगनपानी–फुल्पा–घुर्मे–मेगर्पा सडक, मन्थली–गाल्वा–चौरीखोला सडक, मन्थली–मदौँ–रालटार–सामलथान–सालु सडक, मन्थली–चिसापानी–पुरानागाउँ सडक, कालोचौतारा सडक र खिम्ती–बेताली–रस्नालु लगायतका सडक पूर्वाधार विकास कार्यालय रामेछापले हेर्दै आएको छ । मन्थली–सुनारपानी–सालु–देउराली–साँघुटार सडकमा भने वर्षा हुने वित्तिकै सवारी साधन आवतजावतमा निकै समस्या हुँदै आएको छ । ती सडकहरुमा वर्षाका कारण खसेका पहिरो हटाउने तथा नाला सफा गर्ने काम भइरहेको उहाँले बताउनुभयो । जिल्लामा हालसम्म ६४ किलोमिटर सकड कालोपत्रे भएका छन् । कालोपत्रे भएका सडकमा पनि पहिरोले धेरै क्षति पु¥याएको थियो । चालु आर्थिक वर्ष २०७८/०७९ मा २० देखि ३० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको उहाँको भनाई छ ।

Share this

प्रतिकृया

Add