सुनकोसी–२ जलविद्युत आयोजना चाहिदैनः सरोकारवाला

 आइतवार, कार्तिक १४, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रामेछाप । अध्ययनको क्रममा रहेको सुनकोसी–२ जलविद्युत आयोजना आवश्यक नरहेको रामेछाप जिल्लाका सरोकारवालाहरुले बताए छन् । आयोजना प्रभावित क्षेत्रका माझी समुदायले खारेजीको माग गर्दै आएको सुनकोसी–२ जलविद्युत आयोजना प्रभावित क्षेत्रका स्थानीय सरकार र जिल्लास्थित राजनीतिक पार्टीहरुले पनि आयोजना आवश्यक नरहेको बताएका हुन् ।
आयोजना खारेजीको माग गर्दै सम्बन्धित निकायमा पटक–पटक ध्यानाकर्षण गराउँदै आएका माझी समुदायले राष्ट्रिय मानव अधिकार आयोगमा समेत ध्यानाकर्ष–पत्र बुझाएपछि आयोगले सदरमुकाम मन्थलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा स्थानीय सरकार र राजनीतिक पार्टीहरुले आयोजना आवश्यक नरहेको बताएका हुन् ।

सरकारले माझीलाई मारेर आयोजना बनाउँछ भने हाम्रो भन्नु केही छैनः सांसद माझी

बागमती प्रदेश सांसद रिता माझीले सुनकोसी–२ जलविद्युत आयोजनालाई स्थानान्तरण गर्नुपर्ने बताएकी छन् । माझी र नदीबीच अन्योन्याश्रित सम्बन्ध रहेकाले नदीविना माझी समुदाय बाच्नै नसक्ने भएकाले सरकारले माझीलाई मारेर आयोजना बनाउँछ भने हाम्रो भन्नु केहीछैन सांसद माझीले भनिन् । सुनकोसी–२ जलविद्युत आयोजना बन्दा माझी समुदायको भाषा, संस्कार, संस्कृति, परम्परा, रीतिरिवार र पहिचान नै पूर्णरुपमा समाप्त हुने भएकाले यो आयोजना सञ्चालन गर्न नहुने बताइन ।
आयोजनाले सार्वजनिक सुनुवाईका क्रममा प्रभावित क्षेत्रका माझी समुदायलाई सूचना नै नदिई आफ्नो गतिविधि अघि बढाएको थाहा पाएपछि आफूहरु बुझ्न जाँदा माझी समुदायको जुलुस देख्दा डराएर सार्वजनिक सुनुवाई नै नगरि भागेको बताइन ।
माझी समुदायको मागको बारेमा यसअघि पनि पटक–पटक स्थानीय प्रशासन र सरकारको ध्यानाकर्षण गराउँदै आएपनि चासो नदिएको भन्दै अझै पनि आपूmहरुका माग सम्बोधन नभएमा चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिइन । मानव बस्तीको क्षतिविना सुनकोसी–२ जस्तै जलविद्युत आयोजना बनाउन सकिने ठाउँहरु धेरै भएकाले सरकारले माझी समुदायको संरक्षण गर्न चाहन्छ भने आयोजना स्थानान्तरण गर्नुपर्ने सांसद माझीले बताइन ।

नेपालको लागि सुनकोसी–२ आयोजना जरुरी छैनः बस्नेत

मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले नेपालको लागि सुनकोसी–२ जलविद्युत आयोजना जरुरी नरहेको बताएका छन् । सुनकोसी–२ आयोजना निर्माण सम्भव नभएको समेत नगरप्रमुख बस्नेतले बताए ।
आयोजना निर्माण हुँदा सरकारी संरचना बाहेक मन्थली नगरपालिकाको मात्रै ६ हजार ७ सय निजी आवास र १ सय ९३ वटा धार्मिक मठमन्दीरहरुमा क्षति पुग्ने बताए । आयोजना अगाडि बढाउनु अघि सरकारले ५ लाख नागरिकको व्यवस्थापन गर्नुपर्ने भएकाले आयोजना निर्माण गर्नु सम्भव नहुने बताए । नगरपालिका, नागरिक र नागरिकको सम्पत्तीको सुरक्षाप्रति सचेत रहेको बताउँदै नागरिकको संरक्षण र अधिकारको लागि आफू सधै नागरिककै साथ हुने पनि नगरप्रमुख बस्नेतले बताए ।
सुनकोसी–२ जलविद्युत आयोजना प्रभावित क्षेत्रका माझी तथा अन्य समुदायको मागप्रति आफ्नो पूर्णसमर्थन रहेको बताउँदै आयोजना अघि बढ्ने अवस्था आएमा माझी समुदायको मागको सम्बोधन गराउँन आपूm लटेर लाग्ने पनि नगरप्रमुख बस्नेत प्रतिवद्धता जनाएका । आयोजना अघि बढेमा रामेछाप जिल्लाको इतिहासदेखिको सारा अस्तित्व नै समाप्त हुने नगरप्रमुख बस्नेतको भनाई छ ।

प्रभावित क्षेत्रका नागरिकको माग सम्बोधन गरेर आयोजना अघि बढ्नुपर्छः प्रजिअ पहाडी

रामेछापका प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले प्रभावित क्षेत्रका माझी समुदाय तथा अन्य समुदायको मागको संवोधन गरि आयोजना अगाडि बढाउनुपर्ने बताए । माझी समुदायको संस्कार, संस्कृति र पहिचान संरक्षणको लागि विकल्पहरु खोजीगर्न सकिने प्रमुख जिल्ला अधिकारी पहाडीको भनाई छ । माझी समुदायको आर्थिक जीवनमा सुधार हुने साथै आयोजनबाट जिल्ला र नागरिकको लागि लाभ हुने अवस्था रहेमा आयोजना अघि बढाउनुपर्ने प्रजिअ पहाडीको भनाई छ ।
प्रभावित क्षेत्रका नागरिकहरुको गास, बास, कपास, रोगजगारी, पेशा, धर्म, भाषा, संस्कृतिको संरक्षण र सुनिश्चितता हुनेगरी परियोजनालाई अघि बढाउन थुप्रै विकल्पहरु रहेको पनि प्रजिअ पहाडीले बताए । प्रभावित क्षेत्रका नागरिकले उठाएका माग सम्बोधनका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने पनि प्रजिअ पहाडीले बताए ।

माझी समुदायको माग संवोधन नभए अन्तर्राष्ट्रियकरण हुन्छः डा. ढुङ्गेल

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. सूर्यप्रसाद ढुङ्गेलले माझी समुदायले उठाएका माग र प्रश्नलाई आयोगले गम्भीर रुपमा लिएको बताए । आयोजना प्रभावित क्षेत्रका माझी तथा अन्य समुदायसँग छलफल गरी प्रभावितहरुकोे माग सम्बोधन गराउन आयोग लागिपर्ने पनि ढुङ्गेलले बताए ।
माझी समुदायले उठाएको मागलाई सरकार र राजनीतिक पार्टीहरुले सही समाधान नगरेमा यो मुद्धालाई आयोगले अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने समेत बताए । सुनकोसी–२ जलविद्युत आयोजना प्रभावितहरुले उठाएको मागलाई सही समाधान नदिएमा सरकारले यसको जवाफ जेनेभामा दिनुपर्ने ढुङ्गेलले बताए । नागरिकको अधिकार सुनिश्चितताका लागि आयोग हरबखत नागरिककै साथमा रहेको ढुङ्गेलको भनाई थियो ।

अन्तरक्रिया कार्यक्रममा जिल्लाका राजनीतिक पार्टी नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, र नेकपा क्रान्तिकारी माओवादीका प्रतिधिनिहरुले यो परियोजना नागरिकको हितविपरित रहेको बताउँदै माझी समुदाय र नागरिकले उठाएका विषयमा ऐक्यबद्धता रहेका बताएका छन् । नेपाली काँग्रेस रामेछापका उप–सभापति लेखबहादुर कार्कीले नेपाली काँग्रेस माझी समुदायकै साथमा रहेको बताए ।
त्यस्तै नेकपा माओवादी केन्द्रका प्रतिनिधि दिपक प्रसाईले आयोजना बन्दा यहाँको स्थानीयको थाकथलो सुरक्षित हुनुपर्ने बताए । नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इञ्चार्ज गगनबहादुर खड्गीले सुनकोसी–२ जलविद्युत आयोजना नचाहिने बताए । यो आयोजनाले लाभ भन्दा क्षति धेरै पुग्ने भएकाले आयोजना आवश्यक नरहेको उनको भनाई छ । उनले भने– सरकारले निर्माण गरिरहेको देशको १० शहर मध्य विकास भइरहेको नयाँ शहर खुर्कोट, विपी हाइवे, मध्यपहाडी लोकमार्ग र रामेछापको सदरमका मन्थली नै कोल्याप्स् हुने भएकाले यो आयोजना धेरै महंगो हुन जान्छ, त्यसकारण यो आयोजना चाहिँदैन ।
अन्तरक्रिया कार्यक्रममा आयोजना विरुद्ध संघर्षरत माझी समुदायले विभिन्न मागसहितको १३ बुँदे ध्यानकर्षण पत्र बुझाएका थिए ।

Share this

प्रतिकृया

Add