प्रधानन्यायधीश विरुद्ध बार एसोसिएसन रामेछापको पनि ऐक्यबद्धता

 आइतवार, कार्तिक २८, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रामेछाप । केही दिनदेखि राजीनामाको मागसहित प्रधानन्यायधीश चोलेन्द्र शमशेरको विरुद्धमा नेपाल बार एसोसिएशनले गर्दै आएको विरोधप्रति जिल्ला बार एसोसिएसन रामेछापले पनि ऐक्यबद्धता जनाएको छ ।
नेपाल बार एसोसिएसनको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै जिल्ला बार रामेछापले प्रधानन्यायधिशको विरोध गरेको हो । प्रधानन्यायधिशको विरोधमा कालो ब्यानरसहित जिल्ला अदालतमा पुगेका कानून ब्यवसायिहरुले हातमा कालोपट्टी बाँधेर विरोध जनाएको नेपाल बार एसोसिएसन रामेछापले जनाएको छ । बार रामेछापका अध्यक्ष विचारसिंह तामाङको संयोजकत्वमा जिल्ला अदालत परिसरमा जिल्लाका अधिवक्ताहरुले कालोपट्टी बाँधेर प्रधान न्यायधीश जबराको विरोध गरेका हुन् ।
न्यायपालिकाको विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध नेपाल बार एसोसियसनको अभियान अन्तर्गत ‘न्यायापालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधीश जबरा राजीनामा देउ’ भन्दै हातमा कालोपट्टी बाँधेर कानून ब्यवसायिहरु विरोधमा उत्रिएका हुन् । प्रधानन्यायाधीको राजीनामाको माग गर्दै सर्वोच्च अदालतमा दैनिक वकिलहरु धर्ना बस्दै आएका छन् ।
त्यसैको समर्थनमा आइतबार बिहान ११ः०० बजेदेखि १२ः०० बजेसम्म जिल्ला अदालत परिसरमा जिल्लाका कानून ब्यवसायिहरुले धर्ना दिएको अध्यक्ष तामाङले बताए । सोमबार र मंगलबार पनि आफूहरुले विरोध जनाउने नेपाल बार एसोसिएसन रामेछापले जनाएको छ । जिल्ला अदालतको नियमित कामकारबाही विरोध कार्यक्रमको अवधिभर सोमबार र मंगलबार बिहान ११ः०० बजेदेखि १२ः०० बजेसम्म दैनिक एक घण्टा स्थगित हुने उल्लेख गर्दै अध्यक्ष तामाङले त्यसपछिको सयममा भने अदालतबाट हुने नियमित काम कारबाहीमा अवरोध नगर्ने बताए ।

Share this

प्रतिकृया

Add