कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १२ वर्षपछि पक्राउ

 शनिबार, मंसिर ११, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रामेछाप । कर्तब्य ज्यान मुद्दामा फरार अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । रामेछापको खाँडादेवी गाउँपालिकाको राकाथुमका फरार दुई अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय रामेछापले १२ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा साविक राकाथुम गाविस वडा नं. ९ तथा हाल खाँडादेवी गाउँपालिका वडा नं. १ बस्ने ६५ वर्षीय ज्ञानबहादुर तामाङ र उनका ४७ वर्षीय छोरा जयराम तामाङ रहेका छन् । २०६६ साल असोज १८ गते काभ्रेपलाञ्चोक जिल्लाको साविक मेच्छेपौवा गाविस वडा नं. ९ तथा हाल तेमाल गाउँपालिका वडा नं. ९ बस्ने पृथीमान दोङ (तामाङ) ले दिएको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
विगत १२ वर्षदेखि फरार रहेका ज्ञानबहादुरलाई जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी अधिकृतसहितको टोलिले खाँडादेवी गाउँपालिका वडा नं. १ राकाथुमबाट आज बिहान साँढे ६ः०० बजे र अर्का अभियुक्त जयरामलाई जिल्ला प्रहरी कार्यालय काभे्रसँगको समन्वयमा काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलबाट आज बिहान ७ः०० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्ष श्रीशङ्कर श्रेष्ठले जानकारी दिए ।
फरार अभियुक्त ज्ञानबहादुर र जयरामलाई १२ वर्षपछि पक्राउ गर्न आफूहरु सफल भएको सूचना अधिकारी श्रेष्ठले बताए । काभ्रेपलाञ्चोक जिल्लाको साविक मेच्छेपौवा गाविस वडा नं. ९ तथा हाल तेमाल गाउँपालिका वडा नं. ९ बस्ने पृथीमान दोङ (तामाङ) ले आफ्नो छोरा २९ वर्षीय निखिल भनिने तिर्थमान दोङ (तामाङ) लाई ज्ञानबहादुर र जयरामसहितको समूहले २०६६ साल असोज ९ गते अपराह्न करिब ३ः०० बजेको सयमा पुरोना रिसिवी साँधी खुकुरी तथा तरवार प्रहार गरी निर्मम हत्या गरेको भनी २०६६ साल असोज १८ गते जिल्ला प्रहरी कार्यालय रामेछापमा जाहेरी दिएका थिए ।

Share this

प्रतिकृया

Add