मन्थली नगरपालिकाका १७ हजारले मिर्गौला परीक्षण गराए

 शनिबार, माघ १, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रामेछाप । मन्थली नगरपालिकाले गत पौष ११ गतेदेखि सुरु गरेको निःशुल्क मिर्गौला परीक्षण कार्यक्रम अन्तर्गत हालसम्म नगरका १७ हजार नागरिकले मिर्गौला परीक्षण गराएका छन् ।
मिर्गौला बचाउ अभियानसँगको सहकार्ययमा मन्थली नगरपालिकाले ६ वर्ष माथिका व्यक्तिको निःशुल्क मिर्गौला परीक्षण अभियान सञ्चालन गरेको हो ।
अभियान अन्तर्गत १७ हजार जनाले परीक्षण गराएका मध्ये एक हजार तीन सय जना व्यक्तिहरुको मिर्गौला पुनः परीक्षण गर्नुपर्ने देखिएको मन्थली नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक केशव फुँयालले जानकारी दिए ।
स्वास्थ्य संयोजक फँुयालका अनुसार पुनः जाँच गर्नुपर्ने मध्य पौष २८ र २९ गते दुई दिनमा ४ सय ७२ जनाको पुनः परीक्षण गरिएको छ । पुनः जाँच गराइएका ४ सय ७२ मध्ये २ सय ८३ जनाको मिर्गौलाको अवस्था सामान्य रहेको १ सय ६१ जनामा सुगर र पिसाबमा समस्या देखिएको र २८ जनाको मिर्गौलामा केही मात्रमा समस्या देखिएकाले काठमाडौँ रेफर गरिएको फुँयालले जानकारी दिए ।
नगरपालिकाभित्र १ सय १५ वटा स्वास्थ्य केन्द्रहरुबाट मिर्गौला जाँच अभियान सञ्चालन भइरहेको छ । मन्थली बजार आसपास क्षेत्रका लागि प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला समन्वय समितिको प्राङ्गण, थापा चोक, भैसेश्वर, मन्थली माध्यमिक विद्यालय, नागकन्या माध्यमिक विद्यालय, टेकनपुर र निजी विद्यालयहरुमा सञ्चालन भइरहेको मन्थली नगरपालिकाले जनाएको छ ।
१ महिनासम्म सञ्चालन गरिने अभियान नगरभित्र रहेका नागरिकहरुको मिर्गौला परीक्षण नसकिँदासम्म चल्ले नगर स्वास्थ्य संयोजक फुँयालले बताए । कोरोना संक्रमणको जोखिमतालाई ध्यानमा राखेर प्रत्येक खोप केन्द्रबाट दैनिक २५ जनाको दरले मिर्गौला परीक्षण भइरहेको उनले बताए । समयमै नजिकको परीक्षण केन्द्रमा गएर मिर्गौला परीक्षण गराउन नगरभित्रका सबै नागरिकहरुलाई नगरपालिकाले आग्रह समेत गरेको छ ।

Share this

प्रतिकृया

Add