काँग्रेस प्रदेश सभा ‘क’ को कोषाध्यक्ष खड्का र प्रवक्तामा सुनुवार

 मङ्लबार, माघ १८, २०७८ | onlinenews
Share this

रामेछाप । नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘क’ को कोषाध्यक्षमा चेतबहादुर खड्का र प्रवक्तामा कृष्णदाश सुनुवार चयन भएका छन् । प्रदेश सभा ‘क’ को बैठकले कोषाध्यक्ष र प्रवक्ता चयन गरेको हो । प्रदेश ‘क’ सभापति निरोज खड्काले कोषाध्यक्षमा खड्का र प्रवक्ताका लागि प्रस्ताव गरेको सनुवारको नाम बैठकले सर्वसम्मत पारित गरेको हो ।
खड्का खस आर्यतर्फबाट प्रदेश अधिवेशन प्रतिनिधि हुन भने सुनुवार जनजाति तर्फबाट प्रदेश अधिवेशन प्रतिनिधि छन् । कृष्णदाश सुनुवार नेबिसंघ पशुपति बहुमुखी क्याम्पसका नेता पनि हुन् । बिगत लामो समयदेखि पशुपति बहुमुखी क्याम्पस चाबहिलमा नेबिसंघको राजनीति गर्दै आएका छन् ।
त्यसैगरी सभापति खड्काले कुमार तामाङ (टसी लामा) लाई प्रदेश सभा सदस्यमा मनोनित गरेका छन् । निर्वाचित कार्यसमितिको कूल संख्याको २० प्रतिशत सदस्य मनोनित गर्न पाउने अधिकार अन्तर्गत तामाङलाई सदस्यमा मनोनित गरिएको हो ।
बैठकले नेपाली काँग्रेस प्रदेश सभा ‘क’ कार्यालय लिखुतामाकोशी गाउँपालिका–६ खिम्तीमा स्थापना गरेको छ । गाउँपालिका कार्यालय खिम्तीका ज्येष्ठ पार्टी सदस्य भुमीराज खड्का र लक्ष्मीप्रसाद दाहालद्धारा उद्घाटन गरिएको प्रवक्ता कृष्णदाश सुनुवारले जानकारी दिए ।
बैठकले रामेछाप प्रदेश सभा ‘क’ बाट प्रतिनिधित्व गर्दै नेपाली काँग्रेस बागमती प्रदेश सदस्यमा निर्वाचित उज्वलराम घिमिरे, भिमशेन बस्नेत र कल्पना खड्कालाई प्रदेश सभा कार्यसमितिको तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरेको छ ।
रामेछाप प्रदेश सभाको पहिलो बैठकले प्रदेश सभा अन्तर्गतका ३२ वटा वडाहरुमा टोल कमिटी गठन गर्न परिपत्र गरेकोमा २० वटा वडामा टोल कमिटी गठन भइसकेको बैठकमा जानकारी दिइएको थियो ।

Share this

प्रतिकृया

Add