खाँडादेवी गाउँपालिकाको टोलटोलमा इन्टरनेट सेवा

 शुक्रबार, फाल्गुन १३, २०७८ | onlinenews
Share this

रामेछाप । खाँडादेवी गाउँपालिकाले वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकीहरुमा दुई वर्षको लागि निःशुल्क फाइबर इन्टरनेट सेवा सञ्चालन ल्याएको छ । गाउँपालिकाले एक औपचारिक कार्यक्रमको आयोजना गरि निःशुल्क इन्टरनेट सेवा सुचारु भएको जानकारी दिएको हो । पालिका अन्तर्गत रहेका ८० वटा विद्यालय, वडा कार्यालयहरु र स्वास्थ्य चौकीहरुमा एरोनेट इन्टरनेट सेवा प्रदायक कम्पनीमार्फत फाइबर इन्टरनेट सेवा जडान गरिएको खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले जानकारी दिए ।
गाउँपालिकाको ९ वटै वडा कार्यालयहरु, विद्यालय, स्वास्थ्य चौकी लगायत पालिका अन्तर्गतका सबै कार्यालयमा इन्टनेटर सेवा पु¥याउने साथै पालिकाको ५० स्थानमा फ्रि वाइफाई सेवा सञ्चालन गर्नेगरी इन्टरनेट प्रदायक कम्पनीसँग सम्झौता भइसकेको पनि अध्यक्ष तामाङले जानकारी दिए ।
इन्टरनेट सेवा जडानको लागि १ करोड १८ लाखको टेण्डर गरिएको भए पनि गाउँपालिकाले गरेको खर्च र इन्टरनेट प्रदायक कम्पनीले गरेको प्राविधिक सहयोग सहित २ करोड रुपैयाँ खर्च भएको अध्यक्ष तामाङले बताए ।
इन्टरनेट सेवाले शैक्षिक गुणस्तर सुधारको लागि महत्वपूर्ण सहयोग पुग्ने शिक्षक रामबहादुर श्रेष्ठले बताए । विद्यालय तथा विद्यार्थीको फर्म र पठपानको लागि आवश्यक नमूना प्रश्नहरुसमेत इन्टरनेटबाट डाउनलोड गर्नुपर्ने भएकाले इन्टरनेट सेवा सञ्चालनमा आएसँगै विद्यार्थी र विद्यालयलाई सहज भएको श्रेष्ठको भनाई छ ।
बागमती प्रदेश सांसद शान्तिप्रसाद पौडेलले इन्टरनेटको सही सदुपयोग गर्न शिक्षकहरुलाई सुझाव दिएका छन् । इन्टरनेटको सहि प्रयोग गर्न नसक्दा समाजमा विकृति समेत फैलिएको भन्दै, विद्यार्थीहरुलाई विकृतिबाट बचाउन, इन्टरनेटको सहि सदुपयोगमा ध्यानदिन शिक्षकहरुलाई पौडेलले सुझाव दिएका हुन् । इन्टरनेटलाई शैक्षिक गुणस्तरसँग जोडेर प्रयोगमा ल्याउन पनि उनले अनुरोध गरे । वडा स्तरसम्म इन्टरनेट सेवा विस्तर गर्नेमा खाँडादेवी गाउँपालिका जिल्लाकै पहिलो पालिका हो ।

Share this

प्रतिकृया

Add