मन्थली नगरपालिकाको बजेट घट्यो

 बुधबार, असार ६, २०८१ | onlinenews
Share this

 

रामेछाप- रामेछापको मन्थली नगरपालिकाले अघिल्लो आर्थिक वर्षको भन्दा घटेर वार्षिक बजेट तथा कार्यक्रम ल्याएको छ । बुधबार मन्थलीमा भएको नगरसभाको १५ औँ अधिवेशनमा उपप्रमुख ईश्वरी बस्नेतले गत वर्षको भन्दा घटेर बजेट ल्याएकी हुन् । नगर प्रमुख लब श्रेष्ठको अध्यक्षतामा भएको उक्त नगर अधिवेशनमा उपप्रमुख बस्नेतले आर्थिक वर्ष २०८१÷८२ का लागि १ अरब १ करोड ९७ लाख ८१ हजार बजेट विनियोजन भएको जनाएकी छिन् । जबकि चालु आर्थिक वर्ष अर्थात २०८०÷०८१ मा मन्थली नगरपालिकाको वार्षिक बजेट १ अरब ४ करोड ५४ लाख ९२ हजार ८ सय ३७ रहेको थियो । यो बजेट अघिल्लो बजेटभन्दा २ करोड ५७ लाख ११ हजार ८ सय ३७ रुपैयाँले घटी हो ।

बस्नेतले प्रस्तुत गरेको बजेटमा वडा कार्यालयहरुलाई विकास कार्यक्रमका लागि १० करोड र वडा कार्यालय व्यवस्थापनका लागि १ करोड ४० लाख, पूर्वाधार विकासमा २ करोड ८० लाख, आकस्मिक माग हुने पूर्वाधार र मर्मतका लागि ६० लाख र सङ्घीय तथा प्रदेशको समपुरक योजनामा ५ करोड ४५ लाख विनियोजन गरिएको उल्लेख छ । कृषिमा ६० लाख, सुशासनमा १५ लाख, लघु उद्यममा ३० लाख, भाषा, सम्पदा र संस्कृतिको संवर्धनमा २५ लाख, सिँचाइमा ५० लाख, शिक्षा तथा खेलकुदमा ५ करोड ३२ लाख, स्वास्थ्यमा २ करोड ५ लाख, बालमैत्री नगर घोषणालाई १ करोड ३५ लाख, सुख्खाग्रस्त क्षेत्रमा पिउने पानीका लागि ३० लाख बजेट विनियोजन गरिएको छ । त्यसैगरी बस्नेतले कर्मचारीको क्षमता विकासका लागि ४५ लाख र सञ्चालन खर्चका लागि १४ करोड रुपैयाँ विनियोजन गरिएको सभामा प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

मन्थली नगरपालिकाको बजेटमा वडा केन्द्रहरुलाई जोड्ने मुख्य रणनैतिक सडक निर्माण, आवश्यकतामैत्री पूर्वाधारको छनोट, संस्थागत र निजी लगानी साझेदारी, पर्यटकीय क्षेत्रहरुलाई आकर्षक गन्तव्यको रुपमा विकास र सुशासनका माध्यमबाट नागरिकमैत्री सेवालाई प्राथमिकतामा राखेर नगरपालिकाले आगामी आवमा काम गर्ने उल्लेख छ । नगर अधिवेशनमा नगरप्रमुख लब श्रेष्ठले आगामी आर्थिक वर्ष नगरपालिकामा सञ्चालन हुने कार्यक्रमका बारेमा निर्धारण गरिएका विभिन्न नीतिहरुको बारेमा प्रस्ट पारेका थिए । श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आन्तरिक राजस्वको दर यथावत राख्ने, फोहोरमैला विसर्जनका लागि डम्पिङसाइटको निर्माण थाल्ने, विपतका लागि मन्थलीमा खानेपानीसँग सहकार्य गरी विभिन्न स्थानमा होमपाइपको व्यवस्था गर्ने, पर्यटकीय विकासका लागि निजी क्षेत्र र अन्तरनिकायको साझेदारी र समन्वय गरिने उल्लेख छ ।

यसैगरी नगरका सबै कार्य पेपरलेस बनाउँदै लैजाने, कर्मचारीको वृत्तिविकासको अवसर सुनिश्चित गरिने, विकास निर्माणको गुणस्तर परीक्षणका लागि नगर प्रयोगशालाको स्थापना गरिने, नगर वडा साझेदारीका विकास निर्माण कार्यको थालनी गर्ने, नगरको ७० र नागरिकको ३० प्रतिशत साझेदारीमा विकास निर्माण कार्य गरिनेलगायतका नीति अख्तियार गरिने श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगर अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईँले आन्तरिक आय न्यून रहेको मन्थली नगरपालिकामा कर्मचारी व्यवस्थापनको कुरामा समेत चुनौती रहेको अवस्था रहेको बताएका थिए । उनले सङ्घीय र प्रदेश सरकारले दिने अनुदान निरन्तर कटौतीका कारण बजेट कार्यक्रम कार्यान्वयनमा समस्या हुँदा हुँदै पनि नगरले उपभोक्ता समितिमार्फत गर्ने सबै कार्यहरुको रकम भुक्तानी गर्न सफल हुँदै आएको जनाएका थिए ।

Share this

प्रतिकृया

Add