टेम्पु दुर्घटनामा चार जना घाइते

 बिहिबार, असार ७, २०८१ | onlinenews
Share this

 दोलखा- दोलखाको भीमेश्वर नगरपालिकास्थित जिलुमा टेम्पु दुर्घटना हुँदा चालक सहित ५ जना घाइते भएका छन् । चरिकोटबाट जिलुतर्फ जाँदै गरेको टेम्पु भीमेश्वर नगरपालिका–४ स्थित जिलुमा दुर्घटना हुँदा चार जना घाइते भएका हुन् । दुर्घटनामा जिलुकी २० वर्षीया करिस्मा चौलागाई, २८ वर्षीया अन्जु केसी, २८ वर्षीय सविता केसी र चालक ३१ वर्षीय दिपेन्द्र चौलागाई घाइते भएका हुन् । घाइतेमध्ये करिस्माको अवस्था गम्भीर रहेको दोलखाका प्रहरी निरीक्षक जिवन श्रेष्ठले जानकारी दिए । प्रहरीकाअनुसार उनीहरुको सदरमुकाम चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पतालमा उपचार भइरहेको छ । टेम्पु सडकबाट करिब १ सय २० मिटर तल खसेको थियो ।

यसैबिच दोलखाको कालिञ्चोक गाउँपालिकामा ट्रिपर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । कालिञ्चोक गाउँपालिका–६ स्थित गोदोनमा ट्रिपर दुर्घटना हुँदा इन्जिनियर सहित तीन जना घाइते भएका हुन् । घाइते हुनेमा पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका इन्जिनियर २६ वर्षीय अङ्गत यादव, ट्रिपर चालकहरु सिन्धुली घर भएका अन्दाजी ३१ वर्षीय राजेन्द्र मगर र धादिङका अन्दाजी ३५ वर्षीय सरोज श्रेष्ठ रहेको कालिञ्चोक–६ का अध्यक्ष भरत पाण्डेले जानकारी दिए । उनकाअनुसार बिहीवार बेलुकी करिब साँढे ५ बजे दुर्घटनामा परि घाइते भएका उनीहरुलाई उपचारका लागि जिल्ला सदरमुकाम चरिकोट पठाइएको छ । सुनखानी–साङवा सडक निर्माणको क्रममा ट्रिपर अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको थियो ।

Share this

प्रतिकृया

Add