सार्वजनिक सम्पत्ती मासेर घरको आगन विस्तार

 मङ्लबार, असार २६, २०८१ | onlinenews
Share this

रामेछाप– मन्थली नगरपालिका–४ कुकुरकाटे भञ्ज्याङ्का लालबहादुर थापाले सामुदायिक बनको जग्गा मिचेर आफ्नो घरको आगन विस्तार गरेको स्थानीय गजेन्द्र आलेले बताएका छन् । आफ्नो निजी घरको आगन बढाउन सार्वजनिक सडक मिच्नुका साथै सामुदायिक बन समेत फडानी गरेको आलेले बताए । स्काभेटर लगाएर सार्वजनिक जमिन खनेका कारण सालु–दोउराली– गोठपानी सडक खण्ड अन्तर्गत कुकुरकाटे भञ्ज्याङ्गस्थित करिब एकसय मिटर सडक समेत बिग्रिएको उनले बताए । स्काभेटर लगाउँदा सडक बिग्रिनुका साथै भासिएकाले जुनसकै बेला पनि सवाली दुर्घटना हुनसक्ने अवस्था रहेको उनको भनाइ छ ।

गजेन्द्र आलेकाअनुसार लालबहादुरले आफ्नो घरको आगन विस्तार गर्न सामुदायिक बनमा डोजर लगाउँदा केही रुखहरु समेत ढलेका छन् । डोजर लगाउँदा ढलेको समुदायिक बनको रुख केही माटोमा पुरिएको र केही रुख लालबहादर थापाले नै दाउराको रुपमा प्रयोग गरेको आलेले बताए । आलेकाअनुसार लालबहादुरले यही असार २० गते आफ्नो घरको आगन विस्तार गर्न सामुदायिक बनमा डोजर लगाएका थिए ।
‘समुदायिक बन र सडक मिचेको मात्र नभई डोजर लगाएर माटो थुपारेका कारण मेरो घर समेत जोखिममा परेको छ’ गजेन्द्र आलेले गुनासो गरे । उनले भने– ‘मलाई यहाँबाट उठिवास लगाउछु भनि पटक–पटक धम्की दिदै आएको छ । उनले मसँग रिसइबी साँचेर नियतबस मेरो घर अगाडी माटो थुपारेर घर नै जोखिममा पारिदिएको हो ।’

उलने सर्वजनिक सम्पत्तीको रक्षा गर्न र आफूलाई न्याय दिलाई पाउँ भनि मन्थली नगरपालिका न्यायिक समितिमा उजुरी समेत दिएका छन् । ‘लालबहादुर थापाले आफ्नो घर अगाडी सामुदायिक बन क्षेत्र फडानी गरी सडक बिगारेकाले उक्त सडकमा कुनै पनि बेला सवारी साधन दुर्घटना हुनसक्ने सम्भावना रहेको र मेरो घर पनि क्षति हुने अवस्थामा पु¥याएको हुनाले निजलाई आवश्यक कारबाही गरी सार्वजनिक सम्पत्तीको संरक्षण तथा मलाई न्याय दिलाई दिनुहुन हार्दिक अनुरोध गर्दछु’ उजुरीमा भनिएको छ । यस विषयमा मन्थली नगरपालिका र सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा पनि बेवास्ता गरेकाले आफू मिडियामा आउने बाध्य भएको उनको भनाइ छ । लालबहादुरले राति समेत घरमा आएर ट्रचर दिने गरेको आलेले गुनासो गरे ।

यस विषयमा बुझ्दा लालबहादुर थापाले भने आफ्नो कुनै गल्ती भएको बताएका छन् । आफूले राम्रो काम गर्दागर्दै पनि पानी परेको कारण सडक बिग्रिएको बताए । आफूले सार्वजनिक जग्गामा डोजर लगाएको नभई सडकको खाल्डाखुल्डी पुगेको बताए । ‘पानी परेर सडक बिग्रिएकाले गाडी फस्ला, केही तलमाथि होला भनेर म काममा समेत नगई घरमै बसेको छु’ उनले भने । उक्त सडकमा दैनिक अरनिको यातायात सञ्चालन हुँदै आएको छ । लालबहादुरले भने– ‘गजेन्द्र मेरो बहिनी ज्वाई हो, उसलाई मैले केही गरेको छैन, केही दिन अघि राति १० बजेको समयमा हामी खाना खाइरहेको बेल उ आफै मेरै घरमा आएर झगडा गर्न खोजेको थियो ।’

डोजर लगाएर सामुदायिक बनको रुख ढाल्नु भएछ नि भन्ने पत्रकारको जिज्ञासामा उनले भने पानीले माटो गलेको भएर डोजरले छुँदा रुख ढलेको बताए । छीमेहीहरुसँग सल्लाह गरेर नै आफूले डोजर लगाएको उनको भनाइ छ । आफूले गल्ती नगरेको बताउँदै, आफ्नो गल्ती ठहरेमा कारबाही भोग्न तयार रहेको उनको भनाइ छ ।

Share this

प्रतिकृया

Add