भीमेश्वरको शिलामा दुई घण्टा पसिना आयो

 शनिबार, साउन ५, २०८१ | onlinenews
Share this

 

दोलखा- दोलखाको प्रसिद्ध धार्मिकस्थल भीमेश्वर मन्दिरको शिलामा आज दुई घण्टा पसिना आएको छ । भीमेश्वरको शिलामा शनिवार दिउँसो १ः४७ बजेबाट पसिना आउन सुरु भएकोमा ३ः५१ मा रोकिएको थियो । मन्दिरमा सुरुमा बाँयातर्फबाट पसिना आउन सुरु गरेकोमा पछि सबैतिरबाट आएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिका कोषाध्यक्ष सुरेश कुमार श्रेष्ठले जानकारी दिए । भीमसेनको शिलाको पसिना पुछिएको कपास राष्ट्रपति कार्यालयमा पठाइने भएको छ । राष्ट्रपति कार्यालयमा समय लिएपछि आइतवार राष्ट्रपतिलाई भीमेश्वरको महाप्रसाद पठाइने समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए ।

भिमेसनको शिलामा पसिना आएपछि स्थानीयवासी भेला भएर घण्टा, नगरा, स्थानीय बाजा बजाउँदै कुनै अनिष्ट नहोस् भनेर कामना गर्ने र शिलालाई चम्मरले हम्किने चलन छ । भिमसेनलाई पसिना आएपछि मुलुक र जनतामा अनिष्ट नहोस् भनेर घण्टा सहित सबै प्रकारका बाजाहरु बजाइन्छ । पसिना आएको खवर सार्वजनिक हुनासाथ ठूलो सँख्यामा दर्शनार्थी मन्दिर परिसरमा पुगेका थिए ।

भिमसेनको शिलामा पसिना आए राष्ट्र, राष्ट्रप्रमुख, सरकार तथा जनतामा अनिष्ट हुने बताइन्छ । शिलाको सबै भागबाट पसिना आए मुलुकमा ठूलै अनिष्ट हुने अनुमान गरिन्छ । दायाँबाट आउँदा राष्ट्र प्रमुख तथा सरकार र बाँयाबाट आउँदा जनतामा अनिष्ट हुने जनविस्वास छ । यसअघि २०७८ साल बैशाख २५ गते पनि भीमेस्वर मन्दिरको शिलामा १ घण्टा २५ मिनेटसम्म पसिना आएको थियो । त्यसअघि २०७७ साल मङ्सिर ९ गते पनि भीमसेनको शिलामा २ घण्टा ११ मिनेटसम्म पसिना आएको थियो । भीमेश्वर शीलामा वर्षैपिच्छे पसिना आउन थालेको छ । २०७६ साल फागुन ८ गते पनि भीमेश्वरको शिलामा बिहान पौने ६ बजेदेखि ८ बजेर २० मिनेटसम्म पसिना आएको थियो ।
यस्तै २०७४ साल असोज १० गते पनि दिउँसो २ बजेट ५५ मिनेट जाँदादेखि ५ बजेर १५ मिनेटसम्म पसिना आएको भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिले जनाएको छ ।

Share this

प्रतिकृया

Add