अनुगमन समितिको दादागिरी भयो : इन्धन व्यवसायी

 आइतवार, भदौ २३, २०८१ | onlinenews
Share this

 

रामेछाप- रामेछाप जिल्लाका इन्धन व्यवसायीहरुले जिल्ला स्तरीय अनुगमन समितिले दादागिरी गरेको आरोप लगाएका छन् । अनुगमन गर्दा वास्तविकता नबुझी व्यवसायीहरुमाथि अनुचित कारबाही गरेर अनुगमन समितिले व्यवसायीमाथि दादागिरी गरेको इन्धन व्यवसायीहरुको आरोप छ ।

इन्धन व्यवसायीहरुले उद्योग तथा वाणिज्य कार्यालय रामेछापका प्रमुख सुबोध कुमार साह कर्मयोगी नेतृत्वमा अनुगमनमा गएको टोलीले इन्धन व्यवसायीहरुलाई अनुचित रुपमा जरिवाना गरेको भन्दै उक्त जरिवाना रद्द गर्न माग गरेका छन् । आइतवार सिन्धुली हाइवे पेट्रोलियम डिलर्स एसोसिएसनले पत्रकार सम्मेलन गरी व्यवसायीमाथि गरिएको जरिवाना रद्द नगरिए इन्धन बिक्री वितरणलाई ठप्प पार्ने चेतावनी समेत दिएको छ । व्यवसायीहरुले विज्ञप्ति मार्फत तीन बुँदे चरणवद्ध आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेका छन् ।

भदौ २४ गतेसम्म माग सम्बोधन नभएमा रामेछापका पेट्रोलियम आयल फर्महरुका व्यवसायीबिच अन्तरक्रिया गर्ने, २५ गते दिउँसो १ बजेदेखि ५ बजेसम्म ४ वटै पम्पहरुबाट इन्धन बिक्री वितरण नगर्ने, र २५ गतेसम्म पनि व्यवसायीको माग पूरा नभए भाद्र २६ गतेदेखि रामेछापका ४ वटै पेट्रोल पम्पहरु अनिश्चितकालका लागि बन्ध गर्ने घोषणा गरेका छन् ।

उद्योग तथा वाणिज्य कार्यालय रामेछापले नियतवस व्यवसायीहरुलाई कारबाही गरेको उनीहरुको भनाइ छ । वाणिज्य कार्यालयको पेट्रोल पम्पहरू माथिको कारबाही व्यवसायीलाई दुःख दिने नियतले गरिएको समेत उनीहरुले बताएका छन् । निलकण्ठेश्वर आयल स्टोर्समा इन्धन सकिएको, शुभ समृद्धि आयल स्टोर्स प्रा.लिका सञ्चाका बुबा सारै बिरामी परेकाले जिल्ला प्रशासन कार्यालयलाई लिखित जानकारी गराएर बुबाको उपचारमा गएको अवस्थामा व्यवसायीको बाध्यतालाई बेवास्ता गरी कारबाही गरिएको उनीहरुको भनाइ छ ।

कानुनको पालना गर्न आफूहरु सधैभरी तयार रहेको भन्दै व्यवसायीमाथि हुने अनुचित कारबाहीलाई भने आफूहरुले सहन नसक्ने व्यवसायीहरुले बताए ।
मन्थलीको लक्ष्मी आयल स्टोर्स मन्थली र जाल्पादेवी आयल स्टोर खिम्तीले इन्धन बिक्री बितरण गरिरहेको अवस्थामा अनुगमन समितिले इन्धमा कृत्रिम अभाव खडा गरेको भनि व्यवसायीलाई अस्वभाविक हुने गरी कारबाही गर्नु अनुगमन समितिको दादागिरी भएको इन्धन व्यवसायीहरुको भनाइ छ ।

आफूहरूले पारिवारिक समस्या र पेट्रोलियम पदार्थको आयातमा हुने प्राविधिक समस्या बाहेक तेल बिक्रीलाई नरोकेको शुभ समृद्धि आयल स्टोर्सका सञ्चालक जीवन बुढाथोकीले बताए । अस्वाभाविक तेलको बिक्री वितरण रोक लगाएको भन्ने आरोप आफूहरुलाई स्वीकार्य नहुने उनले बताए ।

पत्रकार सम्मेलनमा रामेछाप उद्योग वाणिज्य सङ्घका बरिष्ठ उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठले पेट्रोलियम पदार्थ ल्याउन चिउरा चामल खरिद गरेजस्तो सहज नुहने भन्दै व्यवसायीको बाध्यतालाई पनि सम्बन्धीत निकायले बुझ्नु पर्ने बताए । व्यवसायीको बाध्यतालाई ख्याल नै नगरी व्यवसायीलाई ठुलो रकमको जरिवाना गर्नु गलत भएको उनको भनाइ छ ।

यही भदौ १६ गते अनुगमनका क्रममा निलकण्ठेश्वर आयल स्टोर्सले प्रदेश व्यापार तथा व्यवसाय ऐन २०७६ को दफ ६० को खण्ड (ज) बमोजिम कसुर गरेको पाइएको भन्दै सोही ऐनको दफा ६१ को उपदफा (१) को खण्ड (घ) बमोजिम २ लाख ५० हजार रुपैयाँ जरिवाना गरी ७ दिनभित्र आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालय रामेछापमा उपस्थित हुन निर्देशन दिइएको उद्योग तथा वाणिज्य कार्यालय रामेछापले विज्ञप्ति मार्फत जानकारी गराएको थियो ।
मन्थली नगरपालिका वडा नं १ भैशेश्वरमा सञ्चालित शुभ समृद्धि आयल स्टोर्स अनुगमनको क्रममा बन्द रहेको भेटिएपछि सिलबन्दी गरिएको वाणिज्य कार्यालयले जानकारी दिएको थियो । दुवै पेट्रोल पम्पहरूलाई सात (७) दिन भित्र रामेछाप प्रशासन कार्यालयमा आवश्यक कागजात सहित उपस्थित हुन निर्देशन दिएको थियो । मन्थली भैशेश्वरकै लक्ष्मी आयल स्टोर्समा भने स्थलगत निरीक्षण गर्दा डिजेल ५८०२ लिटर र पेट्रोल ११४५ लिटर मौज्दात रही बिक्री बितरण भइरहेको पनि जानकारी दिएको थियो ।

उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख सुबोध कुमार साह कर्मयोगीद्धारा हस्ताक्षति विज्ञप्तिमा पम्पमा इन्धन नपाइएको भन्नु र सोही विज्ञप्तिमा लक्ष्मी आयस स्टोर्सले बिक्री बितरण गरिरहेको भन्ने कुरा उल्लेख गर्नुले नियतबस व्यवसायीलाई कारबाही गरेको पुष्टि हुने व्यवसायीहरुको भनाइ छ ।

Share this

प्रतिकृया

Add