राज्यमन्त्री तामाङलाई आफ्नै कार्यकर्ताले देखाए कालो झन्डा

 सोमवार, भदौ २४, २०८१ | onlinenews
Share this

 

रामेछाप- ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई आफ्नै कार्यकर्ताले कालो झन्डा देखाएका छन् । मन्त्री तामाङलाई गृह जिल्लामा आफ्नै पार्टीका नेता कार्यकर्ताहरुले कालो झन्डा देखाएका हुन् ।
नेपाली काङ्ग्रेस रामेछापका सभापति समेत रहेका राज्यमन्त्री तामाङलाई सोमवार सदरमुकाम मन्थलीमा उनकै कार्यसमितिका सचिव दिपक खड्का नेतृत्वको एक समूहले कालो झन्डा देखाएको हो ।

पार्टी सभापति तामाङको कार्यशैलीप्रति असन्तुष्ट नेता कार्यकर्ताहरुले मन्त्री तामाङलाई कालो झन्डा देखाई पार्टीको निर्धारित कार्यक्रममा समेत अवरोध पु¥याएका थिए । १११ औँ वि.पी. जयन्तीका अवसरमा रामेछाप काङग्रेसले रामेछापको पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत विभिन्न अस्पतालहरुमा भर्ना भएर उपचार गराइरहेका बिरामीहरुलाई फलफूल बितरण गर्ने कार्यक्रममा पार्टी सभापति तामाङ सहभागि भएका थिए ।

सोमवार बिहान सदरमुकाम मन्थलीस्थित वि.पी.को शालिकमा माल्यार्पण गरी तामाकोसी अस्पताल र दिलश्री मेडिकल हलमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरेर रामेछाप सामुदायिक अस्पताल जाने क्रममा राज्यमन्त्री तामाङलाई उनकै कार्यसमितिका सचिव दीपक खड्का नेतृत्वको टोलीले कालो झन्डा देखाएका थिए । कालो झन्डा देखाएसँगै तनावपूर्ण अवस्था सिर्जना भएपछि राज्यमन्त्री तामाङ रामेछाप सामुदायिक अस्पतालका बिरामीलाई फलफूल वितरण नगरी मन्थली अस्पताल गएका थिए । काङ्ग्रेसका एक समूहले पार्टी सभापतिलाई कालो झन्डा देखाउँदै छन् भन्ने आइतवार नै सङ्केत पाएका प्रहरीले सोमवार बिहानैदेखि मन्थली बजारमा ठुलो सङ्ख्यामा सुरक्षार्की तैनाथ गरेको थियो । कडा सुरक्षा घेराबिच सभापति तामाङलाई कालो झन्डा देखाइएको थियो ।

Share this

प्रतिकृया

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *