सिन्धुलीको रामेछापमाथि छोटे भाइको व्यवहार

 शुक्रबार, अशोज १८, २०८१ | onlinenews
Share this

 

रामेछाप- दैनिक उपभोग्य खाद्यान्नलगायतका इन्धन, निर्माण सामग्री जस्ता अत्यावश्यक बस्तुहरू सिन्धुली जिल्ला भएर रामेछाप आउनुपर्छ । सिन्धुली जिल्लाको बाटो प्रयोग गर्नुपर्ने भएकाले सिन्धुलीले सधैँभरि रामेछाप जिल्लामाथि हेपाहा प्रवृत्ति देखाउँदै आएको छ । सहज भएको बेलामा विभिन्न बहानाबाजी गरी रामेछाप जिल्ला आउने मालबाहक सवारी साधनलाई अवरोध पु¥याउँदै आएको सिन्धुली जिल्लाले विपद्को घडीमा समेत त्यही नियती दोहो¥याएको छ ।
असोज १२ गते दिउँसो सुनकोसीमा आएको बाढीले रामेछाप सदरमुकाम मन्थलीलाई बिपी राजमार्गसँग जोड्ने खुर्कोट पुल बगाएपछि रामेछाप जिल्ला अहिले सङ्कटमा परेको छ ।

यस्तो अवस्थामा पनि रामेछापका लागि खाद्यान्नलगायत अत्यावश्यक सामन लिएर आएका ढुवानीका साधनहरूलाई सिन्धुली प्रशासनले विभिन्न बहानामा दुःख दिने गरेको चालकहरूले गुनासो गरेका छन् । सामान लिएर आउँदै गरेका ढुवानीका साधनहरूलाई सिन्धुलीका विभिन्न स्थानमा प्रहरीले थुनछेक गर्ने गरेको चालकहरू बताउँछन् । सिन्धुलीका विभिन्न स्थानमा प्रहरीले तराईबाट सामान बोकेर आएका साधनलाई रोक्ने गरेका छन् । प्रहरीले मनलाग्दी घण्टौँ रोक्ने र छोड्ने गरेको चालक सानुकुमार बोहोराले बताए । घण्टौँ बिन्ती गरेपछि मात्र छाड्ने गरेको उनको भनाइ छ ।

दैनिक उपभोग्य खाद्यान्न र अति आवश्यक सामान बोकेका मालवाहक सवारी साधनलाई नरोक्न रामेछाप उद्योग वाणिज्य सङ्घले पनि सार्वजनिक रूपमै अपिल गरेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले पनि सिन्धुली जिल्ला प्रशासनसँग समन्वय गरिरहेको छ तर पनि सिन्धुलीले रामेछापलाई छोटे भाइको व्यवहार गर्दै आएको छ ।

सङ्घले केही दिनअघि सार्वजनिक सूचना जारी गरी दैनिक उपभोग्य खाद्यान्न र अति आवश्यक ढुवानीका मालवाहक गाडीहरूलाई छेकथुन नगरी आवश्यक सहजीकरण गरिदिन अनुरोध गरेको थियो । सामान बोकेर रामेछाप आउँदै गरेका ढुवानीका साधनहरूलाई सडकको अवस्था जस्ता बहाना बनाएर विगतमा पनि सिन्धुलीले यस्तै व्यवहार गर्दै आएको थियो । विपद्मा परेका समयमा एक जिल्लाले अर्को जिल्लालाई सहयोग गर्नुपर्नेमा दैनिक उपभोग्य खाद्यान्न र अति आवश्यक सामान बोकेका मालवाहक सवारी साधनलाई छेकथुन गर्नु दुःखद भएको मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले बताए ।

उनले भने, “विगतदेखि नै रामेछाप जिल्ला छिमेकी जिल्लाहरूबाट पीडित हुँदै आएको छ । विपत्ति परेको समयमा एक जिल्लाले अर्को जिल्लालाई सहयोग गर्नुपर्नेमा झन् पीडा दिने मनसायले छेकथुन गर्नु दुःखद कुरा हो । यो विषयमा प्रदेश र सङ्घीय सरकार गम्भीर बन्नु आवश्यक छ ।” विपद्को समयमा अत्यावश्यक सामान बोकेर आएका ढुवानीका साधनलाई छिमेकी जिल्लाका प्रशासनले विभिन्न बहानामा छेकथुन गर्न नपाइने नगर प्रमुख श्रेष्ठको भनाइ छ ।

एसियाली विकास बैंकको अनुदानमा रोड कनेक्टिभिटी सेक्टर आयोजनाले १७ करोड रुपैयाँभन्दा बढी लगानीमा आर्थिक वर्ष २०७१÷०७२ मा निर्माण गरेको खुर्कोट पुल बाढीले बगाएपछि अहिले रामेछाप जिल्लामा आवतजावत तथा सामान ढुवानी गर्न असहज भएको छ । रामेछापलाई तराईसँग जोड्न मन्थली, सित्खा, खुर्काेट, बर्दिबास सडक सञ्चालन भए पनि सिन्धुलीले रामेछाप आउने ढुवानीका साधनहरूलाई अनावश्यक दुःख दिने काम गरिरहेको छ ।

Share this

प्रतिकृया

Add