प्राविधिकसहितको टोलीले गर्यो खुर्कोट पुलको निरीक्षण

 शुक्रबार, अशोज १८, २०८१ | onlinenews
Share this

 

रामेछाप- रामेछाप र सिन्धुलीलाई जोड्ने खुर्कोट पुल निर्माणको जिम्मा नेपाली सेनालाई दिएपछि बिहिवार प्राविधिकसहितको टोलीद्वारा निरीक्षण गरिएको छ । रामेछाप जिल्लाको प्रवेशको मुख्य नाकाको रुपमा रहेको खुर्कोट पुल बाढीले रामेछापपट्टिको भाग बगाएपछि बेलीब्रिज बनाउने जिम्मा नेपाली सेनालाई दिएको हो । बिहिवार प्राविधिकसहितको टोलीले निरीक्षण गरिएको उक्त पुल निर्माण कार्य बुधवारबाटै सुरु गर्ने तयारी गरिएको छ ।

खुर्कोट पुल बगाएपछि दोलखाको किर्ने हुँदै काठमाडौँ जाने सडक खुलाइए पनि उक्त सडक निकै फेरो रहेको छ । खुर्कोट पुल तरेर बिपी राजमार्ग हुँदै काठमाडौँ जान ३ देखि साढे ३ घण्टा लाग्थ्यो भने अहिले दोलखा हुँदै यात्रा गर्दा काठमाडौँबाट रामेछापको सदरमुकाम मन्थली आउन ६ घण्टाभन्दा बढी समय लाग्छ ।

बाढी पहिरोले बिपी राजमार्ग र महत्वपूर्ण दुईओटा मोटरेबल पुल बगाएपछि रामेछाप जिल्ला सडक सञ्जालबाट पूर्ण रुपमा विच्छेद भएको र रामेछापबाट वैकल्पिक रूपमा पुष्पलाल मार्ग मन्थली–चरिकोट–खाडीचौर हुँदै काठमाडौँसम्म पुग्ने सडक खुलाइएको हो ।

दसैँ तिहारलाई लक्षित गरी दोलखाको किर्नेस्थित मिहाल पावर लिमिटेडको आयोजना स्थलबाट बाइपास सडक खुलाएर बिहिवारबाट मन्थली काठमाडौँ यातायात सञ्चालन गरिएको छ । यो सडक खुलेसँगै रामेछापबाट दोलखा, सिन्धुपाल्चोक हुँदै राजधानी काठमाडौँ आवतजावतका लागि केही सहज भएको छ ।

घर जाने आउने मुख्य बाटोको पुल बाढीले बगाएपछि यो वर्षको दसैँमा घर आउन नपाउने हो कि भन्ने चिन्तामा रहेका रामेछापका नागरिकलाई मन्थली–चरिकोट–काठमाडौँ सडक खुलेपछि राहत मिलेको छ । उक्त सडक धेरै लामो भए पनि दसैँमा घर आउन पाइएकोमा खुसी लागेको एक यात्रुले बताए ।

पुष्पलाल मार्गअन्तर्गत दोलखाको किर्नेटारमा तामाकोसीमा आएको बाढीले करिब एक किलोमिटर सडक बगाएपछि अवरुद्ध सडकलाई बाइपास सडक बनाएर खुलाइएको हो । किर्नेस्थित खिम्ती जलविद्युत् केन्द्रको आवास क्षेत्रबाट अस्थायी रुपमा वैकल्पिक सडक खुलाइएको छ ।

Share this

प्रतिकृया

Add