रामेछापको सैपुमा नमुनादीप कप भलिबल प्रतियोगिता सुरु

 आइतवार, कार्तिक ११, २०८१ | onlinenews
Share this

रामेछाप- रामेछापको लिखु तामाकोसी गाउँपालिका–२ सैपुमा आइतवारदेखि नमुनादीप कप भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको नेपाल सरकारका उर्जा, जलश्रोत तथा सिचाई राज्यमन्त्री पूर्णवहादुर तामाङ (कान्छाराम ) ले उद्घाटन गरेका छन् ।

सैपुस्थित अरुणोदय माविको खेल मैदानमा भएको सो प्रतियोगिता आउदो मङ्गलवारसम्म सञ्चालन हुने क्लबका अध्यक्ष राजन बस्नेतले जानकारी दिएका छन् । प्रतियोगितामा रामेछाप, ओखलढुङ्गा, दोलखा र सोलुखुम्बु जिल्लाका १२ वटा फुटबल टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताका लागि रामेछापबाट मन्थली नगरपालिका, लिखु तामाकोसी गाउँपालिका, गोकुलगङ्गा गाउँपालिका, साघुँटार युवा क्लब र अरुणोदय माविले प्रतिस्पर्धा गर्ने भएका छन् । त्यसैगरी छिमेकी जिल्ला ओखलढुङ्गाबाट चम्पादेवी गाउँपालिका र लिखु गाउँपालिकाका ३ वटा टिम र दोलखाबाट तामाकोसी गाउपालिका र मेलुङ गाउँपालिका तथा सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

शनिवार समूह चरणका ३ वटा खेल सम्पन्न भएका छन् । पहिलो खेलमा अरुणोदय मावि रामेछापलाई लिखुपिके गाउँपालिका सोलुखुम्बुले सोझो सेटमा हराएको छ । लिखुपिके अरुणोदयसँगको प्रतिस्पर्धामा पहिलो सेट २५–११ र २५–२१ ले विजयी भएको थियो ।

त्यसैगरी दोस्रो खेलमा लिखु गाउँपालिका ‘सी’ले २–१ सेटमा मन्थली नगरपालिकालाई पराजित गरेको छ । लिखु गाउँपालिका ‘सी’, ओखलढुङ्गा १९–२५, २५–१८ र १५–११ ले विजयी भएको हो । शनिवारनै भएको तेश्रो तथा अन्तिम खेलमा साँघुटार युवा क्लब रामेछापले तामाकोसी गाउँपालिका, दोलखालाई सोझो सेटमा पराजित गरेको छ । साँघुटार युवा क्लब २५–२३ र २५–२० को सोझो सेटले विजयी भएको थियो ।

प्रतियोगिताको विजेता टोलीले ट्रफी सहित १ लाख १ हजार ५ सय, उपविजेता टोलीले ७५ हजार ५ सय र तेस्रो हुने टोलीले ५० हजार ५ सय प्राप्त गर्ने सहसचिव निरज पौडेलले जानकारी दिएका छन् । क्लबले पालिकास्तरीय प्रतियोगिता मार्फत राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सघाउ पु¥याउने विश्वास लिएको छ । नमुनादीप क्लबले २०६५ साल यता नियमित रूपमा आयोजना गर्दै आइरहेको नमुनादीप कपको यो दशौँ संस्करण हो ।

Share this

प्रतिकृया

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *