
रामेछाप- रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बिपी राजमार्गसँग रामेछापलाई जोड्ने खुर्कोट पुल स्थायी निर्माण गर्नको लागि बजेट बिनियोजन भइसकेको बताए । गत असोजको बाढीले खुर्कोटको पुल गाएपछि तत्कालै बेलीब्रिज निर्माण गरी हाल अस्थायी रुपमा सञ्चालन भइरहेको उक्त पुलको स्थायी संरचना निर्माणको लागि १५ करोड रुपैयाँ बजेट बिनियोजन भइसकेको प्रजिअ पौडेलले जानकारी दिए । रामेछाप उद्योग वाणिज्य सङ्घको ३२ औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ पौडेलले सो कुराको जानकारी दिएका हुन् ।
खुर्कोटबाट काभ्रे हुँदै जाने सडकको व्यवस्थापनको लागि पनि आफ्नो तहबाट घच्घचाइरहेको प्रजिअ पौडेलले बताए । त्यस्तै बाढीले बगाएको किर्नेको सडक निर्माणको लागि पनि बजेट विनियोजन भइसकेको उनले बताए । उक्त सडक निर्माणको लागि करिब ४२ करोड रुपैयाँ बजेट विनियोजन भइसकेको प्रजिअ पौडेलले बताए । प्रजिअ पौडेलले भने– सडक डिभीजन कार्यालय खाल्टेको प्रमुखसँग मेरो कुरा भइरहेको छ, उहाँकाअनुसार अब छिट्टै टेन्डर प्रक्रियामा जाँदै छ । उनले भने– ‘खुर्कोटबाट काभ्रे हुँदै जाने सडकको लागि पनि करिब ७ अर्ब बजेट बिनियोजन भइसकेको छ, दुई खण्डमा विभाजन भएर काम हुनेवाला छ । त्यसको लागि डकुमेन्ट तयार गर्न तथा टेन्टर प्रक्रिया गर्न सडक डिभीजन कार्यालय भक्तरपुर र सडक डिभीजन खाल्टे लागिरहेका छन् ।’
खुर्कोट पुलको विषयमा कार्यक्रमका सहभागीहरुले उठाएको प्रश्नको बारेमा प्रमुख जिल्ला अधिकारी पौडेलले भने– खुर्कोटको पुल बगाएपछि सबैको प्रयास र पहलबाट तत्काल जडान गर्न सफल भयौँ र उक्त पुल उद्घाटनको दिन मैले नेपाली सेनाका जर्नेलहरुसँग पुलको भारवहन क्षमताको बारेमा कुरा गरेको थिएँ, उहाँहरुले १५ टनभन्दा बढी लोड ल्याउन सम्भव नहुँने बताएपछि हामीले सोहीअनुसार कार्य गर्दै आएका छौँ । खुर्कोट पुलमा केही समस्या भएको भन्ने पनि यहाँ कुरा उठेको छ, यदि त्यस्तो हो भने म तत्कालै कारबाही गर्छु प्रजिअ पौडेलले भने– यहाँले सस्तो लोकप्रियताको कुरा गर्ने र तालि बजाउने होइन, प्रमाणसहित लिखित रुपमा आउनुस् तत्काल कारबाही हुन्छ । मलाई लाग्छ त्यस्तो भएको छैन । यदि प्रमाणसहित यहाँहरु आउनुहुन्छ भने अन द स्पोट कारबाही गर्छु, त्यो क्षम्य हुँदैन । पुलको क्षमता बढाउने र अझ व्यवस्थित गर्नका लागि हिजो विपद्को समयमा बसै क्षेत्र एकगठ भएर लागेझैँ अहिले पनि त्यसैगरी लाग्नु पर्ने पनि प्रजिअ पौडेलको भनाइ छ ।