Logo

सहकारीका सञ्चालक र कर्मचारीलाई भाखा नाँघेका ऋण व्यवस्थापन तालिम



रामेछाप- रामेछाप जिल्लाका सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरुका लागि भाखा नाँघेका ऋण व्यवस्थापन सम्बन्धी दुई दिने तालिम आयोजना गरिएको छ । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडको आयोजना तथा बागमती प्रदेश बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडको समन्वयमा उक्त तालिम आयोजना गरिएको हो ।

उक्त तालिमको उद्घाटन मङ्गलवार मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले गरेका हुन् । तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्थली नगरपालिका प्रमुख श्रेष्ठले रामेछाप जिल्लामा सहकारीका समस्या बाहिर नआएपनि निर्विवाद ढङ्गले चलेको छ भन्ने अवस्था भने नरहेको बताए । सहकारीहरुले आफ्ना मान्छेहरुलाई प्रक्रिया नपु¥याइ ऋण लगानी गर्दा सहकारीहरु सुशासनमा खुलेर अघि आउन नसकेको उनले बताए । सहकारी सञ्चालकहरुले आफन्त र नातागोताका मान्छेलाई ऋण लगानी गर्दा धितो मूल्याङ्कन बिनानै ऋण लगानी गर्दा पनि भाखा नाँघेका ऋण असुलीमा समस्या आएको नगरप्रमुख श्रेष्ठको भनाइ थियो । समुदायबाट सङ्कलन गरेको पैसा व्यक्तिले ऋण लिएर नतिरेको अवस्था छ भने सरकारको तर्फबाट के गर्न सकिन्छ, सहकारीको छाता सङ्गठनहरुसँग सहकार्य गरी ऋण नतिर्ने व्यक्तिहरुलाई सेवा सुविधाबाट वञ्चित गरेर जान सकिन्छ कि यो विषयमा पनि छलफल गरेर अगाडि जानुपर्छ भनेर हामी लागेका छौँ, नगरप्रमुख श्रेष्ठले भने । उनले भने– ऋण नतिर्ने व्यक्तिलाई दयामाया गरेर बचतकर्तालाई कति दिनसम्म रुवाएर राख्ने ? त्यसकारण ऋण लगानी गर्दा इज्जत प्रतिष्ठाभन्दा पनि व्यवसाय प्रवर्धनलाई प्राथमिकता दिनुपर्छ ।

ऋण लगानी गर्दा स्थानीय सरकारसँग पनि समन्वय गर्न नगरप्रमुख श्रेष्ठले सहकारी सञ्चालकहरुलाई आग्रह गरे । उनले भने– खानै समस्या छ, छोराछोरीलाई पढानै समस्या छ भने बरु त्यस्ता व्यक्तिलाई स्थानीय सरकारले के गर्न सकिन्छ त्यो पनि गरौँला, सहकारीहरुले सामाजिक दायित्व अन्तर्गत त्यस्ता व्यक्तिहरुलाई सहयोग नर्ग सकिन्छ, त्यसतर्फ पनि छलफल गर्नु आवश्यक छ । ऋण लागनी गर्दा क्षमता र दक्षताअनुसारको ऋण लगानी गर्न पनि नगरप्रमुख श्रेष्ठले सहकारीहरुलाई आग्रह गरे ।

रामेछाप बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडका निवर्तमा अध्यक्ष एवम् सहकारी अभियन्ता गोविन्दप्रसाद घिमिरले धेरै सहकारी संस्थाहरुले विनाधितो ऋण लगानी गर्दा समस्या भएको भन्दै विनाधितो लगानी गरेको ऋण असुली गर्ने पनि विधि रहेको बताए । त्यो कुरा सञ्चालकहरुले सदस्यहरुलाई बताउनु पर्ने भन्दै घिमिरेले भने– सहकारीले तमसुक गरेपछि पुग्छ धेरै कुरा गरिरहनु पर्दैन । हामीले जग्गा लगायत विभिन्न धितो लिएका छौँ, ‘हामीले ऋणीलाई डुबाउन भनेर धितो राखेको होइन, उसले राम्रो आम्दानी गरोस्, ऋण तिरोस् बच्चाबच्चीलाई राम्रोसँग पढाओस् र राम्रो आम्दानी गरोस् भनेर त्यसो गरेका हौँ’, उनले भने ।

घिमिरे भन्छन्– छोराछोरी विवाह गर्न खर्च भएन, सहकारीमा आउँछन्, गाउँघरमा लिएको ऋण तिर्न सेकनन् सहकारीमा आउँछन् । घरको छाना छाइएन सहकारीमा आउँछन्, सहकारीमा ऋण लिन सजिलो छ, बैंकले त्यतिसजिलै ऋण दिंदैन । अनि यस्तो अप्ठ्यारो अवस्थमा हाम्रा सदस्य र ऋणीलाई हामीले सहयोग गरेका छौँ भने अहिले हामी अप्ठ्यारो अवस्थामा भएको बेला ऋणीहरुले पनि समयमै ऋण तिरेर सहयोग गर्नुपर्छ । उहाँलाई ऋण चाहिएको बेला धेरै धाउनु हुन्छ जब ऋण लिएर जानुहुन्छ अनि सम्पर्कमै आउनु हुन्न, घिमिरेले भने । सहकारीहरुले ऋण लगानी गरेको पैसा सहकारीका सदस्हरुको भएकाले जुनसुकै प्रक्रियाबाट भएपनि ऋण असुली गर्नुपर्ने उनको भनाइ छ । हजारौँ नागरिकलाई रुवाएर सीमित व्यक्तिले गरेको बद्मासीलाई स्वीकार गर्न नसकिने घिमिरेको भनाइ छ ।

रामेछाप जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडका अध्यक्ष तथा तालिम उद्घाटन समारोहका अध्यक्ष जगन्नाथ दाहालले सरकारले अध्यादेश मार्फत सहकारीलाई नियन्त्रण गर्ने थुप्रै टुल्सहरु ल्याएको भन्दै सरकारले तल्लो तहसम्म सहकारीलाई नियन्त्रण गर्ने, नियमन गर्ने अभियान ल्याएको बताए । अबका दिनमा सहकारीका सञ्चालक र कर्मचारीहरु कोहीपनी भाग्ने अवस्था नरहेको उनको भनाइ छ । तीन तहकै सरकारले सहकारीका सञ्चालक र कर्मचारीलाई दरिलो ढङ्गले बाँधेर ल्याएकाले अब कोहिपनि उम्कने अवस्था नरहेको उनले बताए । उक्त तालिम दुई दिनसम्म सञ्चालन हुने रामेछाप जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडका उपाध्यक्ष नवीन घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्