Logo

मेरो कार्यालयमा जेगरुँ मेरो मर्जी हुन्छ : निमित्त कार्यालय प्रमुख पुन



रामेछाप-  पूर्वाधार विकास कार्यालय रामेछापका निमित्त कार्यालय प्रमुख ज्यानेन्द्रप्रसाद पुनले सेवाग्राहीलाई थर्काउने गरेको गुनासो सेवाग्राहीबाट बारम्बार आउने गरेको छ । सेवाग्राहीको समस्या सुन्नै नचाहने बरु उल्टै थर्काउन गरेको गुनासो सेवाग्राहीबाट आइरहेको छ ।

कार्यालय समयमा नागरिकलाई सेवा दिनु सरकारी कर्मचारीको प्रमुख जिम्मेवारी हो । नागरिकका समस्या बुझ्ने र समस्या समाधानको लागि प्रयत्न गर्नु हरेक कार्यालयका प्रमुखहरूको जिम्मेवारी नै हो ।
कार्यालय प्रमुखले समस्या बल्झाउन होइन, समस्या समाधानको लागि काम गर्नुपर्दछ । यो कर्मचारीहरुको दायित्व नै हो । तर पूर्वाधार विकास कार्यालय रामेछापका निमित्त कार्यालय प्रमुख  ज्यानेन्द्रप्रसाद पुन भने नागरिकका समस्या बुझ्ने र समस्या समाधान गर्ने काममा होइन सेवाग्राहीलाई थर्काउने र पत्रकारहरूलाई समेत धम्क्याउने कार्यमा लागेका छन् ।

जिल्लामा पूर्वाधारको सबैभन्दा बढी काम गर्ने जिम्मेवारी पाएको त्यस कार्यालय मार्फत भएका कामको गुणस्तरीयताको बारेमा बारम्बार प्रश्न उठ्ने गरेको छ । निर्माण व्यवसायीसँग मिलेमतो गरी निर्माणको काममा ढिलाइ गरेको, सम्झौताअनुसार निर्माण व्यवसायीले गर्नुपर्ने काम समयमा सम्पादन गराउनेभन्दा पनि व्यवसायीसँग आर्थिक विषयमा बार्गेनिङ गरी म्याद थप गर्दै जाने गरेको, मिलेमतोमा गुणस्तरहीन कामलाई पनि पास गरिदिने आरोप खेपिरहेका सो कार्यालय प्रमुख पुन त्यसलाई ढाकछोप गर्न आफूलाई सबै विषयका ज्ञाता ठान्ने गर्दछन् ।

कार्यालय प्रमुख पुनः नागरिकसँग होइन, काम नगर्ने व्यवसायीसँग रातदिन उठबस गर्छन् । अन्य सरकारी कार्यालयभन्दा अलग स्थानमा रहेको कार्यालयको एकान्तपन पुनलाई डिल गर्ने उपयुक्त थलो बनेको छ ।
सो कार्यालय मार्फत भएको कामको गुणस्तरको बारेमा नागरिकबाट बारम्बार गुनासो आएपछि कार्यालयले दुई वर्षभित्र गरेका कामको विवरण माग्न बिहिवार कार्यालयमा पुगेका रामेछापका पत्रकालाई पनि पुनले आफ्नो असली व्यवहार देखाए ।


कार्यालय प्रमुखको कोठामा कार्यालय समयमा कर्मचारीको पोसाकसमेत नलाई ढोका लगाएर बसेका प्रमुख पुनले कार्यालयमा सूचना लिन सूचना अधिकारीको कार्यकक्षमा पत्रकारहरू पुगेपछि सूचना अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाई विशेष निर्देशन दिएर पठाएका थिए ।

त्यसपछि कार्यालय प्रमुखकै कोठामा पत्रकारहरू प्रवेश गर्दा उनी मोबाइलमा फेसबुक चलाउन व्यस्त थिए । बेसबुकमा व्यस्त उनलाई पत्रकारले नमस्कार गर्दासमेत नमस्कार फर्काउन फुर्सद थिएन । सोही विषयमा पत्रकारसँग उनको केहीबेर विवादसमेत भएको थियो । सो क्रममा मोबाइल चलाउँदै नमस्कार फर्काउने आफ्नो फरक तरिका भएको भन्दै उनले पत्रकारहरूलाई आचरण नभएका आरोप लगाए ।
त्यतिमात्र होइन पत्रकारहरूलाई माग्नेको संज्ञा दिँदै उनले सूचना र विज्ञापन नछापी १५ हजारको बिल लिएर आउने तपाईँहरू जस्तै पत्रकार होइन भन्दै पत्रकारहरूलाई धम्क्याए । उनीसँग उनको कार्यकक्षमा भइरहेको संवादको फोटो र भिडियो खिचिरहेका पत्रकारहरूलाईसमेत आचरण नभएका भन्दै उनले धम्क्याए ।

पत्रकारहरूले आफूहरूले नेपाली नागरिकको हिसाबले वृहत् अध्ययन र कार्यालयबाट भएका काम, खर्चको विवरण तथा रामेछापमा नै नआउने पत्रिकामा टेण्डर आह्वान गरेको सूचना प्रकाशित गर्नुको कारण लगायत खुलाएर सूचना दिन माग गरेका थिए । सुरुमा निवेदन दर्ता गर्न आनकानि गरेका पुनले पछि निवेदन दर्ता गराउन लगाएर ऐनले तोकेको समयभित्र सूचना उपलब्ध गराउने बताएका छन् ।
कार्यालय समयमा कर्मचारीको पोसाक नलगाई बसेका पुनले आफ्नो कार्यालय भित्र आफ्नो मर्जी हुने भन्दै पत्रकारहरूले जे गर्न सक्नु हुन्छ गर्नुस् भन्दै धम्क्याए । कार्यालय समयमा सरकारी कर्मचारीहरूले अनिवार्य रूपमा सरकारले तोकेको कर्मचारी पोसाक लगाउनु पर्ने कानुनी व्यवस्था छ । त्यस बापत सरकारले कर्मचारीहरुलाई पोसाक भत्तासमेत उपलब्ध गराएको छ । तर पुन भने हाफ टीसर्ट लगाएर निजी निवासमा बसेजसरी कार्यालयमा बसेका थिए ।

सो कार्यालयले गरेको कामको विषयलाई लिएर जिल्लाका सरोकारवाला निकायमा पनि उजुरीहरू परेका छन् । कार्यालय प्रमुख पुनको व्यवहारबाट हैरान भएका सेवाग्राहीले उनको व्यवहार निन्दनीय भएको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्