Logo

जिल्लाका महत्त्वपूर्ण सडक तथा पुल समयमै निर्माण नहुँदा नागरिकलाई सास्ती



– नागरिकलाई झुक्याउने कार्यालय प्रमुखलाई कारबाही गर्नेपर्ने स्थानीयको माग ।
– १८ महिनामा पुरा गर्नेगरी लागेको ठेक्काको काम ४ वर्षमा सम्पन्न नहुँदा पनि कार्यालय कानमा तेल हालेर बसेको छ ।
– निर्माण व्यवसायीसँग मिलेमतो गरी काम अघि बढाउ चासो नदिने कार्यालय प्रमुख दुवैलाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग स्थानीयको छ ।
– सडक निर्माणको काममा ध्यान नदिने, नागरिकलाई झुक्याउने कार्यालय प्रमुखलाई कारबाहीको दायरमा ल्याउनु पर्ने माग गोकुलगङ्गा गाउँपालिकाका पूर्वअध्यक्ष खड्ग सुनुवारको छ ।

रामेछाप- पूर्वाधार विकास कार्यालय रामेछापका प्रमुख ज्यानेन्द्रप्रसाद पुन ढोका थुनेर कार्यालयमा मस्त हुँदा सो कार्यालय मार्फत निर्माण हुनुपर्ने सडकहरू भने अस्तव्यस्त भएका छन् ।
उक्त कार्यालय मार्फत निर्माण भइरहेका मन्थली– पकरबास–गोगनपानी–गाल्वा सडक, सित्खा–गोगनपानी–धुलेबेसी–भोटनागी सडक, खिम्ती–रस्नालु–ठोसे सडक लगायतका जिल्लाका अति महत्त्वपूर्ण सडकहरू तथा पक्की पुलको निर्माण अलपत्र अवस्थामा छन् । जसको कारण नागरिकले सास्ती खेपिरहेका छन् ।

सित्खा–गोगनपानी–धुलेबेसी–भोटनागी सडक कोलोपत्र गर्नुपर्ने पछिल्लो तोकिएको म्याद गएको असोज मसान्तसम्म रहेको थियो । निर्माण व्यवसायीले काम नगरेपछि स्थानीयले कार्यालयमा नै ताला लगाइदिएका थिए । कार्यालयमा ताला लागेपछि निर्माण व्यवसायी र जिल्ला पूर्वाधार विकास कार्यालयले तोकिएको समयमा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएपनि अझैसम्म पनि काम अघि बढेको छैन । काम अघि बढाउन कार्यालयले कुनै चासो नदिएको स्थानीयको गुनासो छ ।
त्यस्तै मन्थली– पकरबास–गोगनपानी–गाल्वा सडक अन्तर्गत पकरबास– गाल्पा सडकको कालोपत्र गर्ने अन्तिम म्याद एक वर्ष अघिकै असार मसान्तसम्म मात्र थियो । सो सडक निर्माणको अन्तिम म्याद सकिएको एक वर्ष बित्दा पनि कालोपत्रको काम हुन सकेको छैन । सडकमा ३ दिनभित्रै सबबेस बिछ्याउने कार्य अगाडी बढाउने, जनशक्ति बढाएर ड्रेनको बाँकी काम छिटो सम्पन्न गराउने तथा सडक कालोपत्रको कामलाई पनि अघि बढाउने सहमति कार्यालय, निर्माण व्यवसायी र स्थानीयबिच भएको थियो । सो सडकको पकरबास सिकारीडाँडादेखि गाउँपालिकाको भवन माकादुमको घ्याङसिङ डाँडासम्म बेस राखेर बिटुमिन हाल्ने काम भएको छ । सो ठाउँको कालोपत्र गएको आर्थिक वर्षमा पनि भएन । बाँकी काम त अघि नै बढेको छैन ।

ती दुईवटा सडकको काम निर्धारित समयमा सम्पन्न नभएको भन्दै गाउँपालिका उपाध्यक्ष रमा घिसिङको नेतृत्वमा जनप्रतिनिधि र स्थानीयको टोलीले २०८१ सालको जेठ ८ गते पूर्वाधार विकास कार्यालय मन्थलीमा ताला नै लगाइदिएको थियो । तर काम अघि बढाउने कुरामा कार्यालयले कुनै पहल कदमी नलिएको स्थानीयको गुनासो छ ।

कुल १० किलोमिटर लामो पकरबास–गोगनपानी–गाल्वा सडक खण्डको कालोपत्र गर्ने जिम्मा अर्याल ब्रदर्श र दिवा भुवनेश्वरी जेभीले ४३ करोड रुपैँयामा लिएको थियो । त्यस्तै ७.५ किलोमिटर लामो गोगनपानी–धुलेबेसी–भोटनागी सडक निर्माणको जिम्मा १७ करोड रुपैँयामा रौताहा सगुन र पाँच पोखरी कन्ट्रक्सनले लिएको थियो । दुबै सडक १८ महिनाभित्र काम पुरा गर्नेगरी २०७८ सलमा ठेक्का सम्झौता भएका थिए । १८ महिनामा पुरा गर्नेगरी लागेको ठेक्काको काम ४ वर्षमा सम्पन्न नहुँदा पनि कार्यालय कानमा तेल हालेर बसेको छ ।

सो सडक हिउँदमा धुलाम्मे र वर्खामा हिलाम्मे अवस्थामा छाडेकोले सवारी साधनमा यात्रा गर्दा दुर्घटनासमेत हुन सक्ने विषयमा गम्भीर हुन स्थानीयले अनुरोध गरेका छन् । काम जिम्मा लिएर पटक पटक म्याद थप गर्दा पनि काम नगर्ने दुवै सडक निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी र निर्माण व्यवसायीसँग मिलेमतो गरी काम अघि बढाउ चासो नदिने कार्यालय प्रमुख दुवैलाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग स्थानीयको छ ।

उता सोही कार्यालय मार्फत निर्माण भइरहेको खिम्ती–रस्नालु–ठोसे सडक पनि त्यस्तै लथालिङ्ग छ । सो सडकको काम सम्पन्न नहुँदा रामेछापको उत्तरी क्षेत्रमा जाने यातायात साधनहरू घण्टौँ फस्ने गरेका छन् । सडक निर्माणको काममा ध्यान नदिने, नागरिकलाई झुक्याउने कार्यालय प्रमुखलाई कारबाहीको दायरमा ल्याउनु पर्ने माग गोकुलगङ्गा गाउँपालिकाका पूर्वअध्यक्ष खड्ग सुनुवारको छ ।

प्रतिक्रिया दिनुहोस्