सन्तोष ढुङ्गेल
रामेछाप- जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ ले वडाबासीलाई वडा कार्यालयबाट नै राष्ट्रिय परिचयपत्र वितरण र नयाँ दर्ता सुरु गरेको छ । मङ्गलवार प्रमुख जिल्ला अधिकारी, रामेछाप नगरपालिकाकी उपप्रमुख बालकुमारी कार्की र वडा नम्बर ७ का वडा अध्यक्ष समीर कार्कीले संयुक्त रुपमा राष्ट्रिय परिचयपत्र वितरण गरेका हुन् ।
वर्षाका कारण यातायातको सहज पहुँच नभएको र नागरिकलाई सास्ती नहोस् भनेर वडा कार्यालय मार्फत नै राष्ट्रिय परिचयपत्र वितरण र नयाँको लागि दर्ता फरामसमेत भर्ने व्यवस्था मिलाएको नगर प्रवक्ता एवम् वडा नम्बर ७ का अध्यक्ष समीर कार्कीले बताए । अपाङ्गता तथा वृद्धबृद्धालाई सदरमुकाम मन्थली जान समस्या भएकोले मङ्गलवारदेखि रामेछाप नगरपालिका वडा नम्बर ७ बाट वितरण अभियान सुरु गरिएको पनि अध्यक्ष कार्कीले जानकारी दिए ।
रामेछाप नगरपालिका भित्र रहेका ९ वटै वडामा क्रमशः यो अभियान संचालन गरिने उपप्रमुख बालकुमारी कार्कीले बताइन् । नागरिकको सहजतालाई ध्यानमा राखेर अभियान चलाइएको पनि उपप्रमुख कार्कीको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जिल्ला प्रशासन कार्यालयमा १७ हजार राष्ट्रिय परिचयपत्र प्रिन्ट भएर आएको र भौगोलिक बिकटताले गर्दा नागरिकले सहजै प्राप्त गर्न नसकेको जानकारी दिए । स्थानीय सरकारसँग समन्वय गरेर जति सक्दो नागरिकको हातमा राष्ट्रिय परिचयपत्र पुर्याउन आफू लागिपरेको समेत प्रजिअ थापाले बताए । पछिल्लाे समय राष्ट्रिय परिचयपत्र नभएका कारण अपाङ्गता तथा ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन समस्या भइरहेको अवस्थामा आफ्नै वडाबाट राष्ट्रिय परिचयपत्र प्राप्त गरेपछि स्थानीयहरू धेरै खुशी भएका छन् ।
