सन्तोष ढुङ्गेल
रामेछाप- धार्मिक आस्था एवम् वश्विास रहेको जिल्लाकै धार्मिक, ऐतिहासएिक एवम् पर्यटकीय स्थल प्रसिद्ध शक्तिपिठ खाँडादेवी मन्दिरमा दर्शन गर्न जाने दर्शनार्थीको समस्यालाई मध्यनजर गर्दै मन्दिर जाने सडक कालोपत्र गरिने भएको छ ।
खाँडादेवी मन्दिर जाने सडकलाई पक्की बनाउन डिटेल सर्भे गरिएको छ । बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत चालु आवमा ५५ लाख विनियाेजन भई बहुवर्षीय आयोजना अन्तर्गत मन्दिर जाने सडकलाई पक्की सडक बनाइने भएको छ ।
पछिल्लाे समय मन्दिरमा भाकाल गर्ने र दर्शन गर्न आउनेको संख्यामा उल्लेख्य वृद्धि भएसंगै सडकको अवस्था कमजोर रहेकाले स्तरोन्नतिका लागि सरकारसंग बजेट ब्यवस्था गरिदिन निवेदन दिएको खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामङले जानकारी दिए। निवर्तमान उर्जा, जलश्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ कान्छारामसंग आग्रह गरेको र सोही अनुरुप बजेट विनियाेजन भएको पनि अध्यक्ष तामाङले बताए । देश भित्रबाट मात्र नभई छिमेकी देश भारतबाट समेत दर्शनार्थी आउने गरेको खाँडादेवी कोषका तामाङले जानकारी दिए। अधिकाश भक्तजनले मन्दिरमा आएर गरेको भाकल पूरा भएको र मन्दिरमा आउने गरेको पनि अध्यक्ष तामाङले बताए । पछिल्लाे समय पुरातत्त्व विभागले मन्दिरको पुनर्नर्मिाण र विकास कोषले अन्य भौतिक संरचनाको निर्माण गरेसंगै मन्दिर परिसर चटिक्कि सिँगारिएको छ । खाँडादेवी मन्दिरलाई देश भित्र मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न सके वार्षिक हजारौं धार्मिक पर्यटक भित्र्याउन सकिने पनि अध्यक्ष तामाङको भनाइ छ । वर्षाको समयमा मन्दिरमा आउने भक्तजनको असुविधालाई ध्यानमा राखेर प्रदेश सरकारबाट सडकको स्तरोन्नतिकाे काम गरेकोमा प्रदेश सरकारलाई अध्यक्ष तामाङले धन्यवाद समेत दिएका छन् ।
रामेछापको खाँडादेवी गाउँपालिकास्थित राकाथुमको फेदीमा विश्वामित्रा गुफासँगैको सुनकोसी नदीमा दुर्गा भगवतीले सुन्डमुसुन्ड राक्षसको बध गरी सोही ठाउँमा खुँडा पखाली खुँडा स्थापना गरेको ठाउँलाई खाँडादेवी भनिएको धर्मशास्त्रीहरुको भनाइ छ । देवीले राक्षसहरुको बध गरी सोही ठाउँमा खुँडा पखालेको र खाँडादेवीमा पुगेर खुँडा गाडी दोलखाको कालिञ्चाेकमा गएर दुर्गा भगवती अन्तरध्यान भएको कुरा शास्त्रमा उल्लेख रहेको धर्मशास्त्रीहरु बताउँछन् । विश्वामित्रा गुफासँगैको सुनकोसी नदी किनारमा दुर्गा भगवतीले सुन्डमुसुन्ड राक्षसको बध गरेकाले यही सुनकोसी किनार नै मुख्य दुर्गा आर्यघाट भएको समेत धार्मशास्त्रीहरुको भनाइ छ ।
