रामेछाप- धान पाकेर भित्र्याउने तयारीमा रहेका रामेछापका किसानहरू मौसम धुम्मिएपछि चिन्तित बनेका छन् । पाक्न लागेको र पाकेको धान काट्ने र बिटा लगाउने चटारो चलिरहेका बेला अचानक मौसम बदलिएर वर्षा हुने सम्भावनाको समाचार आएपछि किसानहरु चिन्तित् बनेका हुन् । रामेछाप जिल्लाको सुनकोसी, तामाकोसी, भटौली र रणजोर खोला किनारका फाँटहरू धान फल्ने मुख्य क्षेत्रहरु हुन् । अहिले यस क्षेत्रका किसानहरू धान काट्ने र काटेको धानलाई वर्षाबाट जोगाउनका लागि बिटा (पुल) लगाएर सुरक्षित गर्ने काममा व्यस्त छन् ।
अधिकांश किसान धान काटेर बिटा लगाउने तयारीमा जुटिसकेका छन् । केही किसानहरू भने खेतमै धान काट्ने कामलाई धमाधम अगाडि बढाइरहेका छन् । एक्कासी मौसम धुम्मिएपछि उनीहरूको काममा अवरोध आउने र पाकिसकेको बाली पानीले भिजेर नोक्सान हुने चिन्ता बढेको छ । गत वर्षको असोजमा आएको बाढीले खेत बगाउँदा थुप्रै किसानले धान भित्र्याउन पाएका थिएनन् । त्यसैले, यस वर्ष पाकेको धान पनि बिटा लगाउने बेला पानी परेर भित्र्याउन नपाइने हो कि भन्ने डरले उनीहरूलाई सताएको छ । किसान राजन माझी भन्छन् मौसम पानी पर्लाजस्तो भएको छ । पोहोरको सालको धान बाढीले लग्यो यसपाली पनि पानीले धान भित्र्याउन देलाजस्तो छैन । १५ दिनजति पानी नपरिदिए सबै किसानले धान भित्र्याइसक्ने थिए, अर्का किसान माइते माझीले भने– “गत वर्षको पीडा अझै ताजै छ, यस वर्ष पनि पानी परेर बाली बिगारिदिने हो कि भन्ने डर लागिरहेको छ ।”
यस वर्ष विगतका वर्षहरूभन्दा धानको उत्पादन निकै राम्रो भएको किसानहरूको भनाइ छ । मौसम अनुकूल भएका कारण धानको बाला भरिएर आएको देख्दा खेतमा पसिना बगाएका किसानहरू उत्पादन वृद्धि हुने आशामा निकै उत्साहित छन् । केही किसानले भने चाडपर्व (तिहार) अगाडि नै आफ्नो धान भित्र्याइसकेका छन्, जसले गर्दा उनीहरू केही ढुक्क छन् । तर, अधिकांश किसानहरू भने अहिले पनि धान काट्ने र भित्र्याउने दौडमा छन् । किसान कुलमान माझीले भने, “यसपाली धान राम्रो फलेकोमा हामी खुसी थियौँ, तर पानी पर्ने समाचारले भने चिन्तित् बनाएको छ ।”
कृषि विकास कार्यालय रामेछापका अनुसार यस वर्ष रामेछापमा ७ हजार २ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ गरिएको छ । मौसम अनुकूल भएकाले यस वर्ष गत वर्षको तुलनामा धान उत्पादनमा पनि वृद्धि हुने अपेक्षा गरिएको छ । यस साता वर्षा र हिमात (चिसो) को सम्भावना रहेको समाचारले किसानहरूको काम गर्ने गतिलाई झन् बढाएको छ । उनीहरू जतिसक्दो छिटो आफ्नो बाली भित्र्याउन चाहन्छन् । यद्यपि, सबै मानिसहरू आ–आफ्नो काममा व्यस्त रहने र कृषि कार्यमा संलग्न हुने मान्छे (जनशक्ति) को अभाव भएका कारण कतिपय परिवारहरूमा धान भित्र्याउने काममा ढिलाइ भइरहेको छ । यसले गर्दा मौसम खराब हुनु अगावै धान भित्र्याउन नपाइने हो कि भन्ने थप चिन्ता किसानहरूमा बढेको छ ।
किसान भक्तबहादुर माझीले भने “धान रोप्ने बेलमा पानी तान्ने मेसिन बिग्रिएका कारण धान रोप्न ढिलो भयो, त्यही भएर धान पाक्न पनि ढिला भयो, धान भित्र्याउने बेलमा पानी पर्लाजस्तो भएको छ, पानी पर्यो भने हाम्रो मेहन खेर जान्छ ।” मौसम पूर्वानुमान महाशाखाले पनि यो साता पानी पर्ने सम्भावना भएकोले केही दिन धान काट्ने काम स्थगित गर्न किसानहरुलाई सुझाव दिएको छ ।
