रामेछाप- बङ्गालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवातको प्रभाव नेपालमा देखिन थालेसँगै रामेछाप जिल्लामा पनि आकस्मिक बाढी र हिमपातको जोखिम बढेको छ । यस परिस्थितिमा सतर्क रहन जिल्ला प्रशासन कार्यालय रामेछापले नागरिकहरूलाई आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संयुक्त रूपमा जारी गरेको विशेष बुलेटिन अनुसार, जिल्लाका स–साना नदीहरूमा पानीको बहाव बढ्ने र आकस्मिक बाढी आउने मध्यम जोखिम रहेको उल्लेख गरिएको छ ।
यसै सन्दर्भमा, प्रशासनले बिहीबार सूचना जारी गर्दै नदी तटीय बस्ती, पहिरो जोखिम क्षेत्र तथा विपन्न समुदायका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो । सूचनामा भनिएको छ, “आगामी तीन दिनसम्म (कार्तिक १५ गतेसम्म) मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले नदी किनार, खोला र पहाडी क्षेत्रका नागरिकहरूले जोखिम न्यूनीकरणका उपायहरू अवलम्बन गर्नुपर्नेछ ।”
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले स्थानीय तह, सुरक्षा निकाय र सरोकार भएका निकायहरूलाई राहत तथा उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
त्यसैगरी, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेकोले त्यहाँका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ । गत सोमबारदेखि मौसम बदली रहेको रामेछापमा मंगलबार खासै वर्षा नभए पनि बुधबार साँझदेखि वर्षा जारी छ ।

