रामेछाप- रामेछाप उद्योग वाणिज्य सङ्घले दुर्घटनामा परेका आफ्ना दुई जना सदस्यहरुलाई बिमा रकम हस्तान्तरण गरेको छ ।
बिहिवार रामेछाप उद्योग वाणिज्य सङ्घको बैठक कक्षमा एक औपचारिक कार्यक्रम आयोजना गरी उद्योग वाणिज्य सङ्घका सदस्य मन्थली नगरपालिका–१ का राजनबहादुर बुढाथोकी र उमाकुण्ड गाउँपालिका–२ बाम्तीभण्डारका साङ्गे लामा शेर्पालाई बिमा रकम हस्तान्तरण गरिएको हो । मन्थलीका बुढाथोकीलाई ७५ हजार रुपैयाँ र उमाकुण्डका शेर्पालाई ९७ हजार रुपैयाँ बिमा रकम हस्तान्तरण गरिएको सङ्घका कार्यकारी अधिकृत नवीन घिमिरेले जानकारी दिए ।
उक्त रकम रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले हस्तान्तरण गरेका थिए । टुकामाया स्टोर्स एण्ड सप्लायर्सका प्रोप्राइटर तथा रामेछाप उद्योग वाणिज्य सङ्घका आजिवन सदस्यसमेत रहेका बुढाथोकी गत साउन ८ गते घरबाट व्यवसाय स्थल जाने क्रममा मोटरसाइकल दुर्घटनामा परी दाहिने कुम भाँचिएको थियो । त्यस्तै उमाकुण्ड कृषि तथा चौरी पशुपंक्षी फर्मका सञ्चाल शेर्पाको गत असार १२ गते चिज उद्योगका लागि दाउरा काट्ने क्रममा रुखले च्यापिएर बायाँ खुट्टाको पैतलामाथिको हड्डी भाँचिएको थियो ।
बिमा रकम हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमखु जिल्ला अधिकारी श्यामकृष्ण थापाले आफ्नो सुरक्षाको लागि बिमालाई अनुसरण गर्नुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी थापाले स्वास्थ्य बिमाले नागरिकमा पुर्याएको फाइदा उल्लेख गर्दै बिमाका फाइदाहरु धेरै देखिएको बताए । उनले भने– हामीलाई पलपलमा बिमा चाहिँदोरहेछ भन्ने कुरा देखिएको छ । कस्ता वस्तुको बिमा हुन्छ र कस्ता वस्तुको बिमा हुँदैन भन्ने कुरा नबुझ्दा कहिलेकाहीँ बिमाप्रति नेगेटिभ धारणा पनि बन्ने गरेको उनले बताए । उनले भने रामेछाप उद्योग वाणिज्य सङ्घले सदस्यको बिमा गरेर यतिराम्रो काम गरेको रहेछ, यो नमूना काम हो । अन्यन्त्र पनि यो अभ्यास गर्न म अनुरोध गर्न चाहन्छु प्रजिअ थापाले भने ।

त्यसैगरी कार्यक्रमका अतिथि तथा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक शिवप्रसाद छामिछानेले भाटभटेनीमा पटक पटक नोक्सान हुँदा पनि बिमाकै कारण दुई तीन वर्षमै पुरानै अवस्था आइपुगेको बताए । भूकम्पबाट विभिन्न सङ्घ संस्थाहरु क्षतिभएको थियो, उहाँहरु पनि अहिले पहिलेकै अवस्थामा आइसक्नु भएको छ, उनले भने बिमा भनेको रक्तदानजस्तै हो । बिमितले क्षतिको सही रकम दाबी गरेमा बिमा कम्पनीले भुक्तानी नरोक्ने बताउँदै, रोकेमा सरकारले कारबाही गर्ने पनि उनले बताए । उनले भने बिमाले क्षतिको बिमा रकम दिन्छ, त्यसैले बिमाले आनन्दसँग सुत्ने वातावरण बनाइदिन्छ, यती हो कि पर्दाखेरी हाम्रो सुरक्षा छ भन्ने हिसाबले गर्वका साथ काम गरौँ, लामिछानेको भनाइ थियो ।
रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीनकुमार थापामगरले आफूहरु निर्वाचित भएपछि पहिलो प्राथमिकतामा राखेर सदस्य दुर्घटना बिमा गरेको बताए । उनले भने हामीले सकेसम्म हाम्रा सदस्यहरु सुरक्षित हुने गरी काम गर्न कोसिस गरेका छौँ । पहिलो चरणमा हामीले सदस्य दुर्घटना बिमाको काम गर्यौँ । त्यसैगरी हामीले सदस्य हितकोष खडा गरिसकेका छौँ । विशिष्ट सदस्य जयप्रकाश श्रेष्ठको संयोजकत्वमा तीन सदस्य समिति बनाएर कार्यविधिसमेत तयार गरी आगामी साधारण सभाबाट अनुमोदन गर्ने गरी लागू गरिसकेका छौँ, उनले भने– कोषमा ९ लाख रुपैयाँ जम्मा भइसकेको छ, त्यसलाई ५० लाख रुपैयाँ पुर्याउने हाम्रो लक्ष्य छ । उद्योग वाणिज्य सङ्घको मुटु भनेको सदस्यहरु हो, त्यसैले हाम्रा सदस्यहरु सुरक्षित हुने र सदस्यहरुलाई बढीभन्दा बढी फाइदा हुने कामलाई हामीले प्राथमिकता दिएका छौँ, अध्यक्ष थापामगरले भने ।
सङ्घका कार्यकारी अधिकृत नवीन घिमिरेकाअनुसार रामेछाप उद्योग वाणिज्य सङ्घले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीसँग आफ्ना १ हजार ३ सय ७४ सदस्यको प्रतिसदस्य १ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा सम्झौता गरेको छ ।
बिमा रकम हस्तान्तरण कार्यक्रमको सहजीकरण सङ्घका महासचिव कुमार श्रेष्ठले गरेको थिए भने कार्यक्रममा सङ्घका विशिष्ट सदस्य, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष लगायतका कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो ।
