सिन्धुली । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशभरका सरकारी सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने उद्देश्यसहित कर्मचारी संयन्त्रलाई स्पष्ट निर्देशन दिएका छन् । सिन्धुलीको तीनपाटन गाउँपालिकामा आयोजित कार्यक्रममा स्वास्थ्य, शिक्षा, प्रशासनलगायतका सेवा क्षेत्रका कर्मचारीलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारको प्रभाव जनताले प्रत्यक्ष रूपमा अनुभूत गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
मुख्यमन्त्री बानियाँले भने, “नागरिकले सेवा पाउन गाह्रो नहोस् । उनीहरूले सहज, छिटो र इमान्दारितापूर्वक सेवा पाएपछि मात्र प्रदेश सरकारप्रति विश्वास र लगाव बढ्छ ।” उनले भने शासन प्रणालीप्रति जनता सन्तुष्ट हुने आधार सरकारले बनाइदिने वातावरण र कर्मचारीले प्रदान गर्ने सेवाको गुणस्तर हो ।
कार्यक्रममा बोल्दै बानियाँले कर्मचारीहरूलाई सेवा प्रवाहमा सक्रिय र जिम्मेवार बन्न आग्रह गर्दागर्दै उनीहरूको समस्या, चुनौती र आवश्यकताहरू समाधान गर्न प्रदेश सरकार तयार रहेको पनि बताए ।
उनले थपे, “कर्मचारी साथीहरूले डेलिभरीमा पूर्ण योगदान दिनुपर्छ । कर्मचारीका औपचारिक समस्या, स्रोत–साधनको अभाव वा अन्य प्रशासनिक चुनौती समाधान गर्नु सरकारको दायित्व हो । हामी त्यसमा सहयोग गर्छौँ ।”
मुख्यमन्त्री बानियाँले स्वास्थ्य तथा शिक्षा क्षेत्र विशेष प्राथमिकतामा रहेको बताउँदै स्थानीय तहका सेवाहरु अझ प्रभावकारी र व्यवस्थित बनाउन प्रदेश सरकार गम्भीर रहेको उल्लेख गरे । सेवा पाउने सबै नागरिकलाई समान व्यवहार, पारदर्शिता र समयमै उपलब्ध गराउन पनि उनले कर्मचारीलाई निर्देशन दिए ।
उनकाअनुसार गाउँपालिकादेखि प्रदेश स्तरका संरचना सबैलाई जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने सेवामा सुधार ल्याउन दिगो र व्यवहारिक कार्यक्रम अघि सारिनेछ ।
कार्यक्रममा सहभागी स्थानीयवासी र कर्मचारीहरूले पनि समस्याहरू खुलाएर राखेका थिए । प्रतिक्रिया सुन्दै मुख्यमन्त्री बानियाँले जनतासँग प्रत्यक्ष रूपमा जोडिन सक्ने कर्मचारी नै सरकारको वास्तविक अनुहार हुने बताउँदै “हामीले प्रदेश सरकारको महत्व स्थापित गर्न चाहन्छौं भने सेवा प्रवाह नै सबैभन्दा महत्वपूर्ण क्षेत्र हो,” उनले भने ।
